५ – ११ बर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप : विभागले बनायो दुई चरणमा सम्पन्न गर्ने योजना
काठमाडौँ, १८ जेठ । सरकारले असारको दोस्रो साता देखि ५ देखि ११ बर्ष उमेर समूहका ३७ लाख बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप तयारी थालेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधा मार्फत ८४ लाख डोज फाइजरको (पेडियाट्रिक डोज) खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएपछि स्वास्थ्य सेवा विभागले बालबालिकालाई खोप दिने व्यवस्था मिलाउने तयारी थालेको हो ।
स्रोतका अनुसार विभागले असारको दोस्रो साता देखि खोप सञ्चालन गर्ने र दुई चरणमा खोप दिने योजना गरेको छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकाहरुलाई र दोस्रो चरणमा ५० जिल्लाका बालबालिकाहरुलाई खोप दिईने भएको हो ।
विभागका खोप शाखा प्रमुख सागर दाहालले बालबालिकालाई खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने कार्य अन्तिम चरणमा पुगेको, आउने खोपका लागि भण्डारणको व्यवस्था मिलाईसकिएको बताए । ‘अहिले नै यो दिन बाट खोप चल्छ भनेर भन्न त सकिएन तर असारको दोस्रो साता तिरबाट सञ्चालन गर्छौ होला,’ उनले भने ।
सरकारले अहिले १२ बर्ष देखि माथिका सबै उमेर समूहलाई कोभिडविरुद्धको खोप दिदै आएको छ । स्वास्थ्य मन्त्रालयले पूर्ण खोप लगाएका तीन महिना पुगेका व्यक्तिले अतिरिक्त बुस्टर डोज लगाउन आव्हान गरेको छ ।
देशमा कोभिड संक्रमण न्युन हुँदै जाँदा कोभिडविरुद्धको खोप लगाउनेको संख्यामा समेत ह्रास आएको छ ।
सम्पर्क इमेल : [email protected]