हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो


उहान, २० माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ ।

हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ ओटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो ।

आजसम्म चीनमा मात्र यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अवस्था झन् जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीहरुको संख्या पनि बढाइएको सो समाचारमा जनाइएको छ ।

चीनका विभिन्न २९ प्रान्त, स्थानीय निकाय र यहाँका स्वास्थ्य आयोगबाट ती स्वास्थ्यकर्मी खटाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ती स्वास्थ्यकर्मीहरुमध्ये ठूलो संख्याका स्वास्थ्यकर्मीलाई विमानस्थलमा राखिएको छ । विमानस्थलमा यस भाइरसको जाँच कडा पारिएको छ । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरिसकेका छन् ।

गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट यो भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको छ । यस कोरोना भाइरसबाट चीनमा मात्र १४ हजार मानिसमा सङ्क्रमण भएको छ भने विश्वका २४ मुलुकमा यस भाइरस देखापरेको बताइएको छ ।

हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको भए पनि भाइरस बाहरिएको पनि जानकारी दिए ।

यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु बन्द गरेको छ ।

सहायक गभर्नर सिआयोले ती चिकित्सक र स्वास्थ्यकर्मीहरु वरिष्ठताका आधारमा पठाइएको र उनीहरु स्वासप्रस्वास र छाती रोगसम्बन्धी विशेषज्ञहरु रहेको जानकारी दिए ।

यसरी पठाइएकाहरुमा ५७ मेडिकल टिमका करिब सात हजारजना चिकित्सक र स्वास्थ्यकर्मी उहानमा मात्र पठाइएको उनले जानकारी दिए । उहान हुबेइको राजधानी शहर हो र यो सबैभन्दा बढी प्रभावित क्षेत्र पनि हो ।

विश्व स्वास्थ्य सङ्गठनले बिहीबारमात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।

मङ्गोलिया र रुसले सिमानाका बन्द गरेका छन् र पपुवा न्युगिनीले एशियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ तर पूर्णरुपमा रोकिएको छैन ।

फिलिपिन्समा पनि आइतबार एकजनाको ज्यान गएको छ । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३६० जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । आइतबार अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो ।

चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल सङ्क्रमित व्यक्तिको सङ्ख्या १४ हजार ५०० पुगेको छ । हालसम्म त्यहाँ १७ हजार मानिस संक्रमित भएको बताइन्छ ।    रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *