क्याथोलिक धर्मगुरु पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर, शल्यक्रिया सफल

काठमाडौँ, २८ असोज । क्याथोलिक धर्मगुरु पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर पुष्टि भएको छ। क्यान्सर देखिएको दायाँ फोक्सोको तल्लो भाग शल्यक्रिया गरेर हटाइएको र शल्यक्रिया सफल भएको भ्याटिकनले जनाएको छ।
७१ वर्षीय पोपको मंगलबार इटालीको रोमस्थित जेमेली अस्पतालमा करिब ९० मिनेट लगाएर शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि गरिएको परीक्षणमा उनलाई फोक्सोको एडिनोकार्सिनोमा पुष्टि भएको भ्याटिकनले जारी गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख छ।
भ्याटिकनका अनुसार शल्यक्रिया सफल भएको छ र कुनै जटिलता देखिएको छैन। शल्यक्रियापछि पोप सामान्य रूपमा होसमा आएका थिए। केही समय निगरानीमा राखेपछि उनलाई अस्पतालको कोठामा सारिएको थियो। उनी करिब एक साता अस्पतालमै रहने अपेक्षा गरिएको छ।
पोपको फोक्सोमा गाँठो नियमित स्वास्थ्य परीक्षणका क्रममा पत्ता लागेको थियो। चिकित्सकले शल्यक्रियाअघि नै क्यान्सरको आशङ्का गरेका थिए। थप परीक्षणपछि उक्त गाँठो फोक्सोको एडिनोकार्सिनोमा भएको पुष्टि भएको हो।
भ्याटिकनले शल्यक्रियाका क्रममा दायाँ फोक्सोको तल्लो भाग पूरै हटाइएको जनाएको छ। क्यान्सर फैलिने जोखिमलाई ध्यानमा राखेर प्रभावित भाग पूर्ण रूपमा हटाइएको बताइएको छ। क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ वा छैन भन्ने पत्ता लगाउन थप परीक्षण भइरहेको समाचार संस्था एएफपीले जनाएको छ।
पोपले आइतबार सेन्ट पिटर स्क्वायरबाट परम्परागत प्रार्थना तथा आशीर्वाद दिएपछि आफ्नो शल्यक्रियाबारे जानकारी दिएका थिए। उनले फोक्सोमा देखिएको गाँठो प्रारम्भिक चरणमै पत्ता लागेको र चिकित्सकले त्यसलाई हटाउन सुझाव दिएको बताएका थिए।
भ्याटिकनले पोपमा संक्रमण वा अन्य बिरामीका लक्षण नदेखिएको जनाएको छ। सामान्यतया स्वस्थ मानिएका पोपको स्वास्थ्यमा अचानक यस्तो समस्या देखिएपछि विश्वभरका क्याथोलिक समुदाय चिन्तित बनेका छन्।
भ्याटिकनका राज्य सचिव कार्डिनल पिएत्रो पारोलिनले पोपको स्वास्थ्यसम्बन्धी खबर अप्रत्याशित भएको बताएका छन्। यद्यपि, पोपको आत्मविश्वास र शान्त स्वभावले उनको स्वास्थ्यलाभप्रति आशावादी बनाएको उनले बताएका छन्।
पोपको स्वास्थ्यलाभका लागि अस्पतालबाहिर ठूलो सङ्ख्यामा मानिस भेला भएका थिए। उनीहरूले पोपको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। अस्पतालबाट भित्रिँदा पोपले गाडीको पछाडिको झ्यालबाट हात हल्लाउँदै उपस्थित मानिसलाई अभिवादन गरेका थिए।
पोपको स्वास्थ्यलाई ध्यानमा राख्दै अक्टोबर २० सम्मका कार्यक्रम स्थगित गरिएको छ। नोभेम्बरको सुरुवातमा ल्याटिन अमेरिकाको भ्रमण गर्ने कार्यक्रम रहेकाले त्यसअघि स्वास्थ्यलाभ गर्ने उनको चाहना रहेको बताइएको छ। उक्त भ्रमणमा उनी लामो समय धर्मप्रचारक तथा बिशपका रूपमा कार्यरत रहेको पेरु पनि समावेश छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



