नर्स ममता काफ्ले हत्या प्रकरण : नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर
भर्जिनिया । नेपाली मुलकी नर्स ममता काफ्लेको हत्या प्रकरणमा अमेरिकाको भर्जिनियास्थित अदालतको जुरीले उनका पति नरेश भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको छ।
अदालतको जुरीले मंगलबार भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो। करिब दुई वर्षदेखि चर्चामा रहेको यस प्रकरणमा झन्डै ६ हप्ता लामो सुनुवाइपछि जुरीले यस्तो फैसला सुनाएको हो।
भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित अदालतमा भएको सुनुवाइमा जुरीले भट्टले ममताको हत्या गरेको अभियोजन पक्षको दाबीलाई स्वीकार गरेको हो। भट्टले भने ममताको मृत्यु आत्महत्याका कारण भएको र आफूले शव व्यवस्थापन गरेको तर हत्या नगरेको दाबी गर्दै आएका थिए।
सुनुवाइका क्रममा अभियोजन पक्षले करीब १०० जना साक्षी र झण्डै ५०० वटा प्रमाण प्स्तुत गरेको थियो । यस्तै सीसीटीभी फुटेज, फोन रेकर्ड, इन्टरनेट सर्च हिस्ट्री तथा अन्य डिजिटल प्रमाण प्रस्तुत गरेको थियो। भट्टले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । प्रतिरक्षा पक्षले पनि अभियोजनले आरोप पुष्टि गर्न नसकेको जिकिर गरेको थियो ।
प्रहरीले ममताको शव भने अहिलेसम्म फेला पार्न सकेको छैन।
सन् २०२४ को जुलाईमा ममता अचानक सम्पर्कविहीन भएपछि यो प्रकरण सार्वजनिक भएको थियो। उनी अमेरिकाको भर्जिनियामा नर्सका रूपमा कार्यरत थिइन्। ममता हराएको घटनामा अनुसन्धान गर्दै प्रहरीले अगस्ट २२, २०२४ मा नरेशलाई पक्राउ गरेको थियो।
अभियोजन पक्षका अनुसार नरेशले ममताको हत्या गरेपछि शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेका थिए। सुनुवाइका क्रममा नरेश आफैँले पनि ममताको शव काटेर व्यवस्थापन गरेको स्वीकार गरेका थिए। तर उनले हत्या गरेको आरोप अस्वीकार गरेका थिए।
अदालतको जुरीले तीनवटै अभियोगमा दोषी ठहर गरेपछि नरेशलाई अब अधिकतम आजीवन कारावाससम्मको सजाय हुन सक्छ। उनको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सन् २०२७ को मार्च १२ मा तोकिएको छ। फैसलापछि अदालतले उनको धरौटीसमेत खारेज गरेको छ।
यस प्रकरणले अमेरिकामा रहेका नेपाली समुदायसँगै नेपालमा पनि ठूलो ध्यानाकर्षण गरेको थियो। ममताको परिवारले लामो समयदेखि न्यायका लागि संघर्ष गर्दै आएको थियो।
प्रिन्स विलियम काउन्टीकी कमनवेल्थ अटर्नी एमी एशवर्थले फैसलापछि जारी गरेको वक्तव्यमा कुनै पनि फैसलाले ममतालाई फर्काउन वा उनको परिवारले भोगेको क्षति मेटाउन नसक्ने बताएकी छन्।
उनले भनेकी छन्, ‘आजको फैसलाले परिवारलाई केही हदसम्म न्यायको अनुभूति गराउने र ममताको जीवन महत्त्वपूर्ण थियो, उनको कथा सुनिएको छ तथा जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाइएको छ भन्ने विश्वासका साथ अगाडि बढ्न सहयोग पुग्ने हाम्रो आशा छ।’
यो फैसलापछि ममताको न्यायका लागि आवाज उठाउँदै आएका नेपाली समुदायका सदस्यहरूले पनि खुसी व्यक्त गरेका छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



