केही मानिसलाई चार पाँच घण्टाको निद्रा नै किन पर्याप्त हुन्छ ?

बीबीसी । हामीमध्ये धेरैलाई स्वस्थ र सक्रिय रहन दैनिक सातदेखि नौ घण्टासम्म सुत्न आवश्यक हुन्छ। तर केही मानिस यस्ता पनि हुन्छन्, जसलाई पाँच घण्टा वा त्योभन्दा कम समय सुते पनि पर्याप्त आराम पुगेको महसुस हुन्छ। उनीहरू बिहान उठ्दा थकित होइन, झन् ऊर्जावान् हुन्छन्।
तर कम सुत्दा पनि शरीरलाई कुनै असर नपर्ने मानिसको पहिचान गर्न त्यति सजिलो छैन। किनकि कतिपयले आफूलाई कम निद्रा पर्याप्त भएको ठाने पनि वास्तवमा उनीहरू पर्याप्त सुतिरहेका हुँदैनन्।
अमेरिकाकी एमी प्यू बर्नार्ड भने यस्तै दुर्लभ मानिसमध्ये एक हुन्।
बर्नार्डलाई आफूले धेरै निद्रा लिनु नपर्ने कुरा बाल्यकालदेखि नै थाहा थियो। अहिले पनि उनी सामान्यतया राति १० बजे सुत्छिन् र बिहान साढे ४ बजे उठ्छिन्।
उनी भन्छिन्, “बिहान मेरो निद्रा आफैँ खुल्छ। त्यसपछि म ओछ्यानमा पल्टिरहनै सक्दिनँ।”
कहिलेकाहीँ ओछ्यानमा पुगेपछि पनि उनलाई तुरुन्तै निद्रा लाग्दैन। त्यसैले कुनै दिन उनी पाँच घण्टा मात्रै सुत्छिन्।
तर अचम्मको कुरा के छ भने, यति कम समय सुतेर पनि भोलिपल्ट बिहान उनलाई थकान महसुस हुँदैन। बरु उनी निकै ऊर्जावान् हुन्छिन्।
अमेरिकाको कोलोराडो विश्वविद्यालयमा इम्युनोलोजीकी प्राध्यापक रहेकी बर्नार्ड बिहान उठेर सबैभन्दा पहिले आफ्नो कुकुरलाई घुमाउन लैजान्छिन्। त्यसपछि करिब एक घण्टा जिममा व्यायाम गर्छिन्। बिहान ८ बजे नपुग्दै उनी डेढ घण्टाको कामसमेत सकिसकेकी हुन्छिन्।
उनको दैनिक सक्रियता देखेर साथीहरू छक्क पर्छन्। यति थोरै सुत्दा पनि उनी कसरी यति फुर्तिली रहन सक्छिन् भन्ने उनीहरूको जिज्ञासा हुन्छ।
तर बर्नार्डका लागि यो कुनै असामान्य कुरा होइन। किनकि उनका बुबा र भाइ पनि उनीजस्तै कम सुत्ने गर्छन्।
हुन त अधिकांश मानिसको अवस्था यस्तो हुँदैन। अमेरिकाको नेसनल स्लिप फाउन्डेसनले गरेको पछिल्लो समीक्षाअनुसार २६ देखि ६४ वर्ष उमेर समूहका वयस्कलाई स्वस्थ रहन प्रत्येक २४ घण्टामा सातदेखि नौ घण्टासम्म निद्रा आवश्यक हुन्छ।
त्यसो भए केही मानिसलाई अरूको तुलनामा निकै कम निद्रा किन पर्याप्त हुन्छ त ?
यो प्रश्न लामो समयदेखि वैज्ञानिकहरूका लागि रहस्य बनेको थियो। तर पछिल्ला वर्षहरूमा भएका अनुसन्धानले यसको पछाडि हाम्रो आनुवंशिक संरचना अर्थात् जीनको महत्त्वपूर्ण भूमिका हुन सक्ने देखाएका छन्।
केही मानिसमा बर्नार्डमा जस्तै अत्यन्तै दुर्लभ आनुवंशिक परिवर्तन हुन्छन्। त्यस्तै, जीनमा हुने सयौँ सामान्य परिवर्तनले पनि मानिसको निद्राको अवधिमा प्रभाव पार्न सक्छन्।
यी खोजहरूले केही मानिस किन थोरै सुत्दा पनि स्वस्थ र सक्रिय रहन सक्छन् भन्ने बुझ्न वैज्ञानिकहरूलाई मद्दत गरिरहेका छन्।
भविष्यमा यही अनुसन्धानबाट प्राप्त ज्ञानको उपयोग कुनै कारणवश पर्याप्त निद्रा लिन नसक्ने मानिसलाई कम सुत्दा देखिने स्वास्थ्यसम्बन्धी जोखिमबाट जोगाउन पनि सकिने अपेक्षा गरिएको छ।
बर्नार्डले कसरी थाहा पाइन् आफ्नो कम निद्राको रहस्य ?
सन् २०१९ मा बर्नार्डले पहिलोपटक आफूलाई किन कम निद्रा पर्याप्त हुन्छ भन्ने कुराको वैज्ञानिक जवाफ पाइन्।
त्यतिबेला अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका अनुसन्धानकर्ताहरूले मानिसको निद्राको अवधिसँग सम्बन्धित एउटा आनुवंशिक परिवर्तन पत्ता लगाएका थिए।
उक्त आनुवंशिक परिवर्तन भएका मानिसहरू सामान्यतया सुत्ने समयमै ओछ्यानमा जान्थे। तर उनीहरूको निद्रा अरूको तुलनामा निकै चाँडै खुल्थ्यो।
यस्ता मानिस सामान्यतया रातमा चारदेखि साढे छ घण्टासम्म मात्रै सुत्थे।
यो अनुसन्धानबारे थाहा पाएपछि बर्नार्डले पनि आफ्नो रगतको नमुना अनुसन्धानकर्ताहरूलाई पठाइन्। परीक्षण गर्दा उनको जीनमा पनि अनुसन्धानकर्ताहरूले पत्ता लगाएको उही परिवर्तन भेटियो।
परिवारका सदस्यमा पुस्तौँदेखि सर्दै जान सक्ने यो दुर्लभ अवस्थालाई ‘फ्यामिलियल नेचुरल सर्ट स्लिप’ (एफएनएसएस) भनिन्छ।
यो अवस्था भएका मानिसलाई स्वाभाविक रूपमै अरूलाई भन्दा कम निद्रा आवश्यक पर्छ। उनीहरूको परिवारका अन्य सदस्यमा पनि यस्तो आनुवंशिक विशेषता हुन सक्छ।
त्यसयता वैज्ञानिकहरूले एफएनएसएससँग सम्बन्धित जीनमा हुने अन्य केही आनुवंशिक परिवर्तनसमेत पत्ता लगाइसकेका छन्।
कम सुत्दा पनि उनीहरूको स्वास्थ्यमा असर किन पर्दैन ?
एफएनएसएससम्बन्धी अनुसन्धानको नेतृत्व गरेकी आणविक जीवविज्ञानी यिङ हुई फूका अनुसार यस क्षेत्रको सबैभन्दा ठूलो रहस्य नै कम निद्रा लिएर पनि यस्ता मानिस कसरी स्वस्थ र सक्रिय रहन सक्छन् भन्ने हो।
वैज्ञानिकहरूले अहिलेसम्म यसको पूर्ण जवाफ पत्ता लगाउन सकेका छैनन्।
तर प्रारम्भिक अनुसन्धानबाट केही रोचक तथ्य बाहिर आएका छन्। एफएनएसएससँग सम्बन्धित आनुवंशिक परिवर्तनले मानिसको निद्राको आवश्यकता मात्रै घटाउँदैनन्, कम सुत्दा सामान्यतया देखिने नकारात्मक असरबाट समेत जोगाउन सक्छन् भन्ने संकेत अनुसन्धानले दिएको छ।
कम निद्राका कारण स्मरणशक्ति कमजोर हुनु पनि एउटा प्रमुख समस्या हो।
सन् २०१९ मा यिङ हुई फूको नेतृत्वमा गरिएको एउटा अनुसन्धानमा वैज्ञानिकहरूले मुसाको जीनमा एफएनएसएससँग सम्बन्धित आनुवंशिक परिवर्तन गराएका थिए।
अनुसन्धानका क्रममा ती मुसाहरू अरू मुसाको तुलनामा कम सुत्ने गरेको पाइयो। तर कम सुत्दा पनि उनीहरूको स्मरणशक्तिमा उल्लेखनीय नकारात्मक असर देखिएन।
अर्को परीक्षणमा यस्ता केही आनुवंशिक परिवर्तन भएका मुसामा अल्जाइमरजस्तै रोग लाग्ने सम्भावना पनि कम देखिएको थियो।
यद्यपि, यी प्रारम्भिक निष्कर्ष हुन्। मानिसमा पनि यस्तै प्रभाव पर्छ कि पर्दैन भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ।
जुम्ल्याहा दाजुभाइको निद्रामा के फरक भेटियो ?
सन् २०१४ मा विभिन्न देशका अनुसन्धानकर्ताहरूको एउटा टोलीले दुई जुम्ल्याहा दाजुभाइमा अध्ययन गरेको थियो। उनीहरू एकैपटक जन्मिएका भए पनि एकअर्कासँग ठ्याक्कै उस्तै देखिने समान जुम्ल्याहा भने थिएनन्।
तीमध्ये एक भाइको जीनमा कम निद्रासँग सम्बन्धित आनुवंशिक परिवर्तन थियो भने अर्को भाइमा यस्तो परिवर्तन थिएन।
अनुसन्धानकर्ताहरूले ती दुई भाइको निद्राको ढाँचा अध्ययन गर्दा आनुवंशिक परिवर्तन भएको भाइ नियमित रूपमा अर्को भाइको तुलनामा करिब एक घण्टा कम सुत्ने गरेको पाए।
त्यसपछि दुवै भाइलाई लगातार ३८ घण्टासम्म जागै राखियो। यस अवधिमा उनीहरूको काम गर्ने क्षमता र कार्यसम्पादनको परीक्षण गरियो।
नतिजा निकै रोचक थियो। आनुवंशिक परिवर्तन भएको भाइले अर्को भाइको तुलनामा करिब ४० प्रतिशत कम गल्ती गरेको थियो।
दुवैको निद्राको प्रकृतिमा पनि केही महत्त्वपूर्ण भिन्नता देखियो।
कम सुत्ने भाइले अर्को भाइको तुलनामा कम समय निदाए पनि लगभग उति नै अवधिको नन–आरईएम निद्रा लिने गरेको पाइयो।
नन–आरईएम निद्रामा मस्तिष्कको गतिविधि सुस्त हुने र गहिरो निद्रासमेत समावेश हुन्छ। यस्तो निद्राले शरीरलाई आराम दिनुका साथै स्मरणशक्ति र मस्तिष्कको कार्यप्रणालीका लागि महत्त्वपूर्ण भूमिका खेल्छ।
यसले कम समय सुत्ने व्यक्तिले पनि आवश्यक गहिरो निद्रा पर्याप्त मात्रामा प्राप्त गर्न सक्ने सम्भावनातर्फ संकेत गर्छ।
तर यो एउटा सीमित अध्ययनको निष्कर्ष हो। यसैका आधारमा सबै कम सुत्ने मानिसको कार्यक्षमता राम्रो हुन्छ भन्न मिल्दैन।
हाम्रो निद्रामा जीनको प्रभाव कति हुन्छ ?
एफएनएसएससँग सम्बन्धित दुर्लभ आनुवंशिक परिवर्तन कम निद्राको एउटा रोचक उदाहरण हो। तर मानिस कति समय सुत्छ भन्ने कुरा यस्ता दुर्लभ जीनले मात्रै निर्धारण गर्दैनन्।
वैज्ञानिकहरूका अनुसार मानिसहरूबीच निद्राको अवधिमा देखिने भिन्नताको करिब ३० देखि ६५ प्रतिशतसम्म हिस्सा आनुवंशिक कारणले हुन सक्छ।
यसको अर्थ हाम्रो निद्राको अवधि निर्धारण गर्न जीनको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। बाँकी भिन्नतामा वातावरण, उमेर, जीवनशैली र अन्य जैविक तथा व्यवहारजन्य पक्षको पनि प्रभाव पर्न सक्छ।
तर एउटा महत्त्वपूर्ण कुरा के हो भने, कम सुत्ने बानी पर्दैमा कसैलाई प्राकृतिक रूपमा कम निद्रा आवश्यक पर्छ भन्ने हुँदैन।
एफएनएसएसजस्तो दुर्लभ आनुवंशिक अवस्था भएका मानिस र कामको चाप, व्यस्त जीवनशैली वा अन्य कारणले पर्याप्त निद्रा लिन नपाएका मानिसबीच ठूलो अन्तर हुन्छ।
त्यसैले आफूलाई पाँच घण्टा सुते पुग्छ भन्ने लाग्दैमा शरीरलाई त्यति नै निद्रा पर्याप्त छ भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन।
वैज्ञानिकहरूका लागि अहिलेको मुख्य चुनौती भनेकै केही मानिसलाई कम निद्रा पर्याप्त हुने जैविक प्रक्रिया पत्ता लगाउनु हो। यसबाट भविष्यमा निद्राको कमीले निम्त्याउने स्वास्थ्य जोखिम कम गर्ने नयाँ उपायसमेत विकास हुन सक्ने अपेक्षा गरिएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।










