मेडिकल विद्यार्थी माथिको लुट ! कहिलेसम्म छुट ?

अच्युत शाली घिमिरे

देख्नेहरुलाई आँखा
सुन्नेहरुलाई कान
बुझ्नेहरुलाई मगज
महसुस गर्नेहरुलाई हृदय
काफि छ
भनिन्छ

तर,
माफियाको आहालमा
डुबिरहेछ
मेडिकल शिक्षा

त्यसैले त

जीएमसीमा
तेईसौँ दिन देखि,
बिना शिर्षक
कलेजले अनावश्यक पैसा उठाएको विरुद्धमा
विद्यार्थीहरु आन्दोलित छन्,
रिले अनशनमा छन्,
ओपिडी सेवा ठप्प छ
विद्यार्थीहरुको परीक्षा अन्योलमा छ

तर,
सरकार र सरकारी संयन्त्रका
माथि उल्खित इन्द्रीयहरु पनि
ठप्प छन्,

राज्यको बेइमानीमा
यहाँ छक्का पञ्जाहरुकै राज,

यस्तो पवित्र शिक्षामा
न यहाँ धर्म छ न पाप
लुट्नेहरु कै छ फलिफाप
पैसाको पछि कुद्ने
फोस्रो मृगतृष्णा,
दरिद्रताको सिकार अनि
पेशाको चिरहरण !!

एउटा प्रश्न,
जिएमसिमा मात्र होइन
आखिर अधिकांश
मेडिकल कलेजमा
गम्भिर भएर आएको छ,
विद्यार्थी माथिको लुट
कहिलेसम्म छुटर ???

गरीब हुनुको तिक्तताले
बारम्बार सताए पनि
चिकित्सा पेशालाई
आत्मसात गरेर
लागियो ‘वाहवाह’ पाउने
मेडिकल शिक्षाको यात्राहरुमा,
मानव कर्तव्यहरु बुझ्दै गइयो
विज्ञानका चमत्कारहरु देख्दै गइयो
जीवन अभिप्रायशील बन्दै थियो,

सेतो एप्रोन लाएर
लासहरु चिर्दै गर्दा
म भित्र कलाहरु विकसित हुँदै थिए,
घाँटीमा इस्थेत भिरेर
बिरामीसंग खिचेका फोटा
घर पुगेर देखाउँदा,
बा पनि कमजोर आँखामा
चस्मा लगाई लगाई हेर्थे,
अनि आमा अगेनामा आगो झोँस्दै
‘हाम्रो छोरो पनि अब डाक्टर हुने भो’
भन्दै मख्ख पर्थिन्,

तर, यात्रा उही रहेन
हामी विद्यार्थीको रगत चुसेर
मोटाउन जानेकाहरु यत्ततत्र रैछन्,
मेरा आमा बालाई डाक्टरी सपना बेचेर
ऋणको भारी बोकाउनेहरु सत्ता वरिपरि रैछन्,

म,
एउटा देशको असल चिकित्सक
बनेर
दूरदराजमा गएर
मेरा बा आमा जस्तै गरिब जनतालाई
उपचार गर्ने
ठूलो सपनालाई,
नियम विपरित लिइने
अनावश्यक शुल्कहरुले
खिल्ली उडाइरहेछ,

सरकार !!
के तिमी पनि,
म अष्ट्रेलिया र अमेरिका
भासिएको भए मात्र
म माथि
गर्व गर्न सक्ने बन्थ्यौ र ??

मेरो जोस जागरमा
पूर्णविराम नलगाउ सरकार,
म पनि
‘सुखी नेपाली , समृद्ध नेपाल’को यात्रामा
तिमी संगै
हातेमालो गर्दै,
झोलाभरि सिटामोल र त्रिफला बोकेर
गाँउ गाँउ पुग्न चाहान्छु !!!

# घिमिरे त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा अध्ययनरत छन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *