‘फ्यालेर सरुवा’ नगर्न सरकार निकट स्वास्थ्यकर्मी संगठनको सुझाव
काठमाडौँ, ३० कात्तिक । सरकार निकट मानिने स्वास्थ्यकर्मीहरुको संगठनले आज हुने भनिएको सरुवामा विशेष सावधानी अपनाउन स्वास्थ्य सेवा विभागका अधिकारीहरुलाई सुझाव दिएको छ ।
स्वास्थ्यकर्मीहरुका तीनवटा संगठनका तर्फबाट आज विभागका महानिर्देशकलाई बुझाएको संयुक्त ज्ञापनपत्रमा खाली स्थान र आपसी पारस्परिक सरुवा मात्र गर्न निर्णय गर्न भनिएको छ ।
ज्ञापनपत्र बुझाउनेहरुमा राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बा, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका अध्यक्ष क्षेत्रराज कार्की र नेपाल स्वास्थ्य प्राविधिक संघका महासचिव भास्कर आत्रेय छन् ।
उनीहरुले बुझाएको ज्ञापनपत्रमा गत भदौ महिनामा मात्रै १६२० जनाको सरुवा भएको र केही दिन भित्रै नै कर्मचारी समायोजन २०७५ जस्तो महत्वपूर्ण ऐन आउने तयारी रहेको अवस्थामा कार्यरत कर्मचारीलाई फ्यालेर सरुवा गर्न उपयुक्त नहुने भनिएको छ ।
विभागका पदाधिकारी भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरु सरुवाबारे अन्तिम निर्णय गर्न बैठकमै रहेको बुझिएको छ ।
सम्पर्क इमेल : [email protected]