बलात्कार घटनामा गलत रिपोर्ट दिने दुई जना डाक्टरलाई कारबाही सिफारिस

काठमाडौँ, १६ असोज । बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो।

महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको छ।

गत भदौ ८ मा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको थियो। त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए। त्यसपछि बालिकाका पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ।

सरकारी वकीलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गरेको छ। महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा गठित समितिमा गृहसचिव, कानुनसचिव, स्वास्थ्यसचिव लगायत सदस्य छन्। समितिको सोमबार बसेको बैठकले गलत रिपोर्ट दिने दिने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

‘पीडितको उचाइ र तौलसमेत दुईवटा प्रतिवेदनमा फरकफरक उल्लेख भएको देखिएको छ। बलात्कार भएको किटानी जाहेरी परेको छ। अनुसन्धान गर्दा घटना भएको देखिएको छ। तर डाक्टरले लापरबाही गरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको भेटियो’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘डाक्टरहरुलाई आवश्यक कारबाहीका लागि संलग्न कागजातको प्रतिलिपि साथै राखी नेपाल मेडिकल काउन्सिलमा पत्र पठाउने निर्णय भएको छ।’

जनकपुर अञ्चल अस्पतालको रिपोर्टमाथि शंका लागेर सिरहा अस्पतालमा परीक्षणका लागि पठाइएको थियो। दोस्रो पटकको जाँचमा बलात्कार भएको रिपोर्ट आएको हो। धनुषा जनकनन्दनी गाउँपालिका २ का करण मण्डलले स्थानीय एक बालिकालाई बलात्कार गरेको मुद्दा जिल्ला अदालत धनुषामा दर्ता भएको थियो। मुद्दा दर्तापछि प्रहरीले अनुसन्धान गरी दायर गरेको अभियोगपत्र गलत ठहर गर्नेगरी डाक्टरद्वयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएका थिए।

२०७५ भदौ ८ मा बालिकामाथि जबर्जस्ती करणी भएको थियो। बालिकाका बुबा रोजगारीको सिलसिलामा भारत गएका र आमा नभएका कारण उनी साना भाइबहिनीको साथमा घरमा बस्ने गरेकी थिइन्। कोही नभएको मौका पारी छिमेकी मण्डलले जबर्जस्ती करणी गरेको प्रहरीको अभियोग छ। पुर्पक्षका लागि थुनामा रहेका मण्डलले अदालतसमक्ष अभियोग स्वीकार गरिसकेका छन्।

  • आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेको समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *