मनमोहन सेन्टरमा गरियो ३७ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया

2.3k
Shares

काठमाडौँ ९ भदौ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ३७ हप्ताको गर्भवतीको अत्यन्तै दुर्लभ र जटिल मानिने मुटुको शल्यक्रिया सफल भएको छ । बिहीबार बिहान १० बजेबाट सुरु गरिएको उक्त शल्यक्रिया बेलुका ५ बजे मात्र सकिएको थियो ।

सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो ।

रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो । मुटुरोग विशेषज्ञ डा. भट्टराईले ३७ हप्ताको गर्भवतीको मुटुबाट निस्कने मुल नली (एओर्टा) फुट्न लागेको अवस्थामा मुटुको सर्जरी सफल रुपमा सम्पन्न गरिएको जानकारी दिए ।

‘एकातिर ३७ हप्ताको गर्भवती महिलाको मुटुको नली फुटेको शल्यक्रिया गर्नुपर्ने, अर्कोतिर महिलाबाट जन्मने बच्चालाई पनि बचाउनुपर्ने अवस्था थियो,’ डा. भट्टराइले भने, “जटिलताका बीचमा पनि सात घण्टा लामो शल्यक्रियाबाट बच्चा र आमा दुवैलाई बचाउन सफल भइयो ।”

सुरुमा आमाको शल्यक्रिया गरी बच्चा निकाल्यौं, डा भट्टराईले भने, “बच्चा बेहोस अवस्थामा निकालिएको थियो, बच्चालाई भेन्टिलेटरमा राखियो ।” बच्चा तीन घण्टापछि होसमा आएको उनले बताए ।

बच्चा निकालेको केहीबेरमै सात घण्टा लामो मुटुको शल्यक्रिया गरेर दुवैलाई बचाउन सफल भएको डा. भट्टराइको भनाइ छ । अहिले आमा, छोरा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

‘मुटुरोगी अर्याललाई टाइप ए अरोटिक डिसेक्सन विथ प्रेगनेन्सीको समस्या थियो । यो दुर्लभ रोग हो’, भट्टराइले थपे “यो रोग लागेपछि विरामी बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ । मनमोहन कार्डियोथेरासिकको नौ वर्षको इतिहासमा पहिलोपटक यस्तो शल्यक्रिया भएको डा. भट्टराईले दाबी गरे ।

सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले यो दुर्लभ र जटिल शल्यक्रिया भएको बताए । उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराई, डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी सहभागी थिए । एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ थिए ।

स्त्री रोगतर्फ डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनिति रावल, डा. सुनिता बज्राचार्य र डा. सुभाना माष्के थिए । यसैगरी बाल रोग विशेषज्ञ डा. प्रदीप पौडेल र डा. कविता मानन्धर, परफ्युजन टिममा महेन्द्र भट्ट, पूर्ण मोक्तान र रविन्द्र शाह, नर्सिङ स्टाफहरुमा जया शर्मा, अर्चना गुरुङ, योजना रेग्मी, सरिता त्रिपाठी, लक्ष्मी योञ्जन, रुची शाह र रबिना मानन्धर खटिएका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *