उपचार नै नगरी ग्राण्डीले १ लाख ८० हजार शुल्क लिएको आरोप

काठमाडौँ, २९ साउन । दाङ घोराहीकी रुद्रा पुन साउन १३ गते तरकारी केलाउँदै गर्दा हृदयघातका कारण बेहोस भएपछि परिवारका सदस्यले काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा फोन गरे ।

अस्पतालले डाक्टर र नर्स सहित हेलिकप्टर पठाइदिने भनेपछि बिरामी पक्ष तयार भए । खातामा ४ लाख ५० हजार रकम जम्मा गरेपछि मात्रै हेलिकप्टर पठाउने सहमति भएपछि बिरामी पक्षले यहि प्रक्रिया पछ्याए ।

नविल बैंकको खातामा रकम जम्मा गरे पनि अस्पतालले खराब मौसमका कारण हेलिकप्टर दाङसम्म पठाउन नसकिने जवाफ दिएको पुनका भतिजा विकासले बताए ।

उनले भने,  ‘हेलिकप्टर नआउने भनेपछि हामीले ठूली आमालाई एम्बुलेन्सबाट नर्भिक अस्पताल ल्यायौँ, ग्राण्डीले भने सेवा नदिएपनि हाम्रो पैसा लिएको छ ।’

विरामी ठिक भएपछि हेलिकप्टर उद्धारका लागि जम्मा गरिएको रकम लिन जाँदा अस्पतालले १ लाख ८० हजार कटाएर मात्रै दिएको बताए ।

अस्पतालको सेवा लिन नपाई रकम काटेको भन्दै उनले गुनासो गरे । अस्पतालले हेलिकप्टर काठमाडौँ देखि पोखरासम्म उडेको दावी गरेको छ । तर विरामी पक्षले हेलिकप्टर उडेको प्रमाण माग गरेका छन् । अस्पतालले विवरण दिन अस्वीकार गरेको उनले बताए ।

पुनले भने, ‘हामीलाई अस्पताल प्रशासनसंग भेटन दिइएको छैन , कहिले मिटिङ, कहिले व्यस्तछु भन्दै हामीलाई आलटाल गरिरहेका छन।’

पुनका अनुसार अस्पतालले उपचारका लागि लाग्ने खर्च सुरेन्द्र बुढाथोकीको नाममा जम्मा गर्न लगाएको हो । प्राप्त भौचरमा पनि सोही व्यक्तिको खातामा रकम जम्मा भएको देखिन्छ ।

अस्पतालले भने पोखरासम्म हेलिकप्टर उडेको चार्ज मात्रै लिएको जनाएको छ । मौसम खराबीका कारण हेलिकप्टर पोखरामै अवतरण गर्नु परेको एयर डाइनेस्टी हेली सर्भिसले जनाएको छ ।

हेलिकप्टर उडिसकेपछि तल खर्चमा डिपोजिटबाट केही रकम काट्ने प्रावधान छ । तर त्यो रकम डाइनेस्टी हेली सर्भिसले नलिएको अध्यक्ष पवित्रकुमार कार्कीले बताए ।

उनले भने, ‘अस्पतालसंगको सहमतिमा हामीले हेलिकप्टर उडाएका हौँ, मौसम खराव भएकाले विरामी ल्याउन पाएनौँ । सेवा शुल्क खर्च शीर्षकमा लिने गरिएको भएपनि हामीले रकम लिएका छैनौँ ।’

ग्राण्डी अस्पतालका प्रवक्ता विनोद अधिकारी भन्छन्, ‘हेलिकप्टर पोखरासम्म पुगेको शुल्क हामीले काटेका हौँ । यो नियमसंगत नै हो ।’

  • आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *