कान्तिमै पुगेनन् मेडिकल अधिकृत, डाक्टर अभावले सेवा प्रभावित

काठमाडौँ, १९ साउन । स्वास्थ्य मन्त्रालयले भएकै दरबन्दीमा चिकित्सक पठाउन नसकेपछि महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालले केही विशेषज्ञ, केही आवासीय र केही दरबन्दीका मेडिकल अधिकृतबाट जेनतेन काम चलाएको छ ।

अस्पतालमा ३९ जना मेडिकल अधिकृतको दरबन्दी छ । तर कार्यरत पाँच जना मात्रै छन् ।

दैनिक हजार बढी विरामी आउने अस्पतालमा डाक्टर नै नभएपछि सेवा नै प्रभावित हुन थालेको छ ।

अस्पतालका निर्देशक डा गणेशकुमार राई भन्छन्, ‘विरामीको चाप बढी रहेको छ तर खास खटिनुपर्ने मेडिकल अधिकृत नहुँदा समस्या परेको छ ।’

उनका अनुसार अहिले अस्पतालमा ३० जना आवासीय, केही बरिष्ठ विशेषज्ञहरुले सेवा दिइ रहेका छन् ।

किन अभाव ?
दरबन्दी अनुसार कान्ति अस्पतालमा मेडिकल अधिकृत पठाउने जिम्मा स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागको हो । त्यहीबाट पठाउन नसकेपछि अभाव भएको हो ।

दुर्गम जानका लागि हानथाप गर्ने चिकित्सक सुगम र त्यो पनि काठमाडौँको केन्द्रमा बस्न नमान्नुको एउटै कारण हो अध्ययन् सुविधा र आर्थिक व्यवस्था ।

निर्देशक डा राई भन्छन, ‘विरामीको चाप हुने कान्तिमा फुर्सद कम हुन्छ । तर अरु अस्पतालमा जस्तो भत्ता पनि हुँदैन । त्यसैले पनि आउन नखोजेका होलान् ।त्यसैले मेडिकल अधिकृतहरुले सकेसम्म दुर्गम खोज्ने र दुई बर्ष पछि एमडी अध्ययन्का लागि सहभागी हुन् पाउने ।
उनले काठमाडौँमै बस्नेहरुले पनि सोर्स लगाएर छेउ छाउका हेल्थपोष्ट ताक्ने गरेको बताए । अहिले के छ थाह छैन, केही समय अघि सम्म छेउ छाउका हेल्थपोष्टहरुमा ७ – ८ जनासम्म चिकित्सक रहेका थिए । विरामीको चाप नै नहुने ती ठाँउमा रहँदा आफ्नो अध्ययनमा सहयोग पुग्ने भएर उनीहरु साइडमा रोज्ने गरेका हुन् ।’

डा राईले केही इएनटी, हाडजोर्नी लगायतका अरु केही विशेषज्ञ दरबन्दी पनि पूर्ण नभएको बताए । ‘केही बालरोग विशेषज्ञहरु हुनुहुन्छ । अरु त समस्या नै परेको छ ।’

उनले पछिल्लो समय विभागबाट केही मेडिकल अफिसर पठाउने आश्वासन पाएको उल्लेख गरे ।

नर्सको समस्या त्यस्तै
डाक्टरको मात्रै होइन कान्तिमा नर्सको समेत अभाव भएको छ । निर्देशक डा राई भन्छन, ‘एउटा नर्सले ३०- ४० जनालाई हेर्नुपर्छ ।’

दरबन्दी पहिले नै कम भएको र त्यसमा पनि कतिपयले छाडेको र करारका लागि लिन बजेट अभाव भएकोले नर्सको समस्या बल्झिने गरेको उनले बताए ।

कान्तिमा नर्सकै अभाव भएका कारण ५२ बेडको आइसियू समेत चल्न सकेको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *