भोलि देशभरका स्वास्थ्य संस्था बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
काठमाडौँ, २ साउन । डा.गोविन्द केसीको जीवन रक्षाको लागि भन्दै नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्था (आकस्मिक बाहेक) बन्द गर्ने घोषणा गरेको छ । उसले दिउसो १२ बजे माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शनमा सहभागी हुन सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपिल समेत गरेको छ ।
नेपाली कांग्रेसले भोलि दिउसो १ बजे माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गर्दैछ ।
आन्दोलनबारे आज गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले ४८ घण्टे अल्टिमेटम सकिदासमेत डा केसीको जीवन रक्षाका लागि सरकारको तर्फबाट ठोस पहल नभएपछि स्वास्थ्य संस्था ठप्प पार्न बाध्य भएको बताए । उनले भने, ‘भोलिको एक दिन बन्द चिकित्सक र स्वास्थ्यकर्मीको आवाज सरकार समक्ष पुरयाउन गरएको भन्दै सरकारले नसुने त्यसपछि अनिश्चितकालिन बन्दमा उत्रिने छौँ ।’
उनले बन्दका बेला अस्पतालहरुमा हुनसक्ने कुनै पनि घटनाका सम्वन्धमा स्वास्थ्यकर्मीले कुनै पनि जिम्मेवारी नलिने भन्दै सरकार नै पूर्ण जिम्मेवार हुने समेत बताएको छ ।
अस्पतालहरुको सेवा अत्यावश्यक सेवा भएको भन्दै सरकारले विरोध बन्द तथा हडताल गर्न निषेध गरेको छ । तर संघले परिस्थिति सरकारले नै निर्माण गरेको भन्दै बन्दको विकल्प नभएको बताएको छ ।
अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो हाम्रो आन्दोलन हो । आन्दोलनका बेला नियम कानून के छ भनेर हेरिदैन । त्यसमा कुन कानूनले के भन्छन भन्ने हामीलाई थाह छैन ।’
उनले चिकित्सक संघ यसअघिका सबै जसो सरकारका पालामा यस्ता खालका आन्दोलन र विरोधमा उत्रिएको बताए ।
अघिल्ला आन्दोलनका बेला कतिपय चिकित्सकहरुले सरकारीमा ओपिडी बन्द गरी दिनभर निजी अस्पताल तथा क्लिनिकमा गएर विरामी जाच्ने गरेको पाइएको थियो । संघले यसपटक त्यसो गर्न नदिने बताएको छ ।
सम्पर्क इमेल : [email protected]