पटक पटक काज मिलाइ जिल्ला भ्रमणमा निस्कने स्वास्थ्यका कर्मचारीलाई अंकुस
काठमाडौँ, २ साउन । महिनामा पटक पटक काज मिलाई जिल्ला भ्रमणमा निस्कने कर्मचारीहरुलाई स्वास्थ्य सेवा विभागले अंकुस लगाएको छ ।
विभागले आफू अन्तरगतका महाशाखा र केन्द्र प्रमुखले आफ्ना कर्मचारीको भ्रमण महिनामा एक पटक मात्रै स्वीकृत गर्न र स्वीकृत पत्र एक प्रति महानिर्देशक समक्ष पेश गर्नुपर्ने नियम बनाएको छ ।
एक भन्दा बढी पटक भ्रमण गर्नुपरेमा महानिर्देशकसंग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । विभागले कर्मचारीको जिल्ला भ्रमणको सबै रेकर्ड विभागको वेवसाइटमा राख्नु पर्ने व्यवस्था समेत गरेको छ ।
‘कर्मचारीको भ्रमणलाई व्यवस्थित गर्न यस्तो नियम लगाएका हौँ । यसले अनावश्यक भ्रमण नियन्त्रण गर्ने र कर्मचारी को कहाँ छ भन्ने जानकारी समेत विभागलाई हुने भयो,’ विभागका महानिर्देशक डा. गुणराज लोहनीले भने ।
यस्तै विभागले आफू र आफ्ना मातहतका महाशाखा तथा केन्द्रमा सेवाग्राहीले पेश गरेका कामका फाइलहरु बढीमा तीन दिन भित्र स्वीकृति गरिसक्ने निर्णय गरेको छ ।
‘अहिलेसम्म कसैका फाइल तत्कालै हुने र कसैका फाइल महिनौँसम्म अडकिने अवस्था थियो । अब हुने भए तीन दिनमै हून्छ र नहुने भए हुँदैन भनेर निर्णय सुनाइन्छ । झुलाएर राखिदैन्,’ महानिर्देशक डा. लोहनीले भने ।
विभागले तीन तहबाट टुंगिने फाइल हरेक तहमा एक दिनभन्दा बढी राख्न नपाइने नियम बनाएको छ ।
स्वास्थ्य सेवा विभाग र त्यस मातहतका निकायका कर्मचारीहरु अब महिनामा एक पटक भन्दा बढी जिल्ला भ्रमणमा निस्कन नपाउने भएका छन् ।