विदेशमा डाक्टरी पढेका ८८ प्रतिशत फेल !
काठमाडौँ, ३२ असार । नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ ।
एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । तर, ‘विदेशमा कस्ता विद्यार्थी गएका छन् र कस्तो शिक्षा लिएर आएका छन् भन्ने प्रस्ट पार्न टेबलमा प्रस्तुत गरिएको उदाहरण नै काफी छ, आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।
त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८५ र बिडिएसतर्फ ९०५ डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् ।विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन् । नेपाल सरकारको अथवा सम्बन्धित देशको छात्रवृत्ति पाएर पनि विद्यार्थी विदेश जान्छन् । तर, यसको संख्या सीमित छ । नेपालमै मेडिकल साइन्स पढ्न पनि प्रवेश परीक्षामा उत्कृष्ट नम्बर ल्याउनुपर्छ ।
योग्यताक्रममा पछि परेका तर अभिभावकले पैसा तिर्न सक्ने विद्यार्थीलाई विदेशको विकल्प खुलै रहन्छ । यसरी विदेश जाने धेरैजसो विद्यार्थी तुलनात्मक रूपमा कमजोर मानिन्छन् ।
शैक्षिक स्तर कमजोर भए पनि डलरमा पैसा तिरेको कारणले चीन, बंगलादेश, पाकिस्तान र फिलिपिन्सजस्ता देशका विश्वविद्यालयमा भर्ना सजिलै पाइन्छ, तर हरेक विद्यार्थीलाई भर्ना दिने कलेजले गुणस्तरीय शिक्षा दिन सक्दैन । त्यसैले विश्वविद्यालयबाट एमबिबिएस पास गरेर आएका डाक्टर पनि लाइसेन्स लिने परीक्षामा असफल हुन्छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com