पूर्व स्वास्थ्य राज्यमन्त्री आलमलाई हृदयघात, प्रधानमन्त्री ओलीले लिए स्वास्थ्य अवस्थाको जानकारी
काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उनले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना गदै परिवारका सदस्यलाई पनि आश्वस्त रहन आग्रह गरे ।
आलम गत मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट– २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थिए । रासस