स्वास्थ्य संस्थामा बन्द हडताल, घेराउ नगर्न स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन
काठमाडौँ, २८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कुनै किसिममा बन्द हडताल, घेराउ, प्रदर्शन जस्ता कार्य नगर्न स्वास्थ्यकर्मीहरुलाई सचेत गराएको छ ।
उसले प्राकृतिक प्रकोप बाढी पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने समय भएको भन्दै देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा कामकाजमा खटिन निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्धारा हस्ताक्षरित सूचनामा अस्पतालभित्र बन्द हडताल घेराउ प्रदर्शन गरे गराएको पाइएमा त्यसमा सम्लग्न स्वास्थ्यकर्मीलाई आवश्यक सेवा सञ्चालन एन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने उल्लेख छ ।
डा गोविन्द केसीको अनशनप्रति ऐकेवद्धता जनाउँदै्र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अस्पतालमा धर्ना तथा विरोधका कार्यक्रम शुरु गर्न थालेपछि यस्तो सूचना आएको अनुमान गरिएको छ ।
त्यसो त पछिल्ला केही दिन देखि परेको अविरल बर्षाले देशका विभिन्न भुभाग डुवानमा पर्दा संक्रामक रोग फैलने खतरा उत्तिकै देखिएको छ । सोही कारण मन्त्रालयले सोही विश्लेषण गरी स्वास्थ्यकर्मीहरुलाई विदा नलिइ निरन्तर सेवामा खटिन निर्देशन दिइएको बुझिएको छ ।
सम्पर्क इमेल : [email protected]