औषधि वितरण र अस्पतालको सेवालाई व्यवस्थित गर्नु अहिलेको प्राथमिकता
काठमाडौँ, २८ जेठ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले औषधि वितरण र अस्पतालको सेवालाई व्यवस्थित गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
उनले चुस्त स्वास्थ्य सेवाका लागि औषधिको उपलव्धता र अस्पतालको सेवा चुस्त हुन जरुरी रहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रीत रहेको बताएका हुन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको टोलीसंग कुरा गर्दै मन्त्री यादवले स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो भन्दै त्यसमा राज्यले गरेका र गर्नुपर्ने प्रतिवद्धताहरुलाई कार्यान्वनय गर्ने दिशामा मन्त्रालय अघि बढेको बताए ।
उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सञ्चारकर्मीहरुको ठूलो महत्व रहने भन्दै स्वस्थ समाज निर्माणका लागि हातेमालो गर्ने बताए । उनले स्वास्थ्य जन चेतनाका लागि मन्त्रालय सञ्चारमाध्यमसंग सहकार्य गर्न तयार रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा मञ्चका अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकारहरुले स्वास्थ्य क्षेत्रमा पुरयाएको सहयोगको बारेमा चर्चा गरेकी थिइन ।
टोलीमा कार्य समितिका ११ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।