दिनमै एक लाख कमाउँछन सरकारी डाक्टर ?
काठमाडौैँ, २७ चैत । एघारौँ तहको सरकारी डाक्टरको तलव स्केल कति हुन्छ ? मासिक करीब ४३ हजार । निजी प्राक्टिस गर्दा मासिक कति थपिन्छ होला ? त्यसको दोब्बर वा तेब्बर ? तर प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले एक जना सरकारी डाक्टरले दिनमै एक लाख कमाउने गरेको ठोकुवा गरे ।
आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमका बारेमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका मन्त्री, सचिव, योजना प्रमुख सहितको भेलालाई सम्वोधन गर्ने क्रममा मन्त्री सोडारीले यस्तो बताएका हुन् ।
‘सरकारी अस्पतालमा कार्यरत सबै डाक्टर त्यस्ता छैनन् तर कतिपयले भने पैसाका लागि आफ्नो दायित्व पनि भुलेका हुँदा रहेछन्,’ सेती अञ्चल अस्पतालको प्रसंग जोडदै उनले भने, ‘सेती अञ्चल अस्पतालमा ११ औँ तहको एक जना चिकित्सक छन्, जो अस्पतालको निर्देशक बन्न मान्दैनन् तर उनले बाहिर प्राक्टिस गरेर दैनिक एक लाख बढी बुझ्छन् ।’ उनले बरिष्ठ डाक्टर प्रमुख नबन्ने र कनिष्ठ डाक्टरलाई प्रमुख बनाउँदा बरिष्ठले नटेर्ने गरेको अनुभव रहेको सुनाए ।
अर्को प्रसंगमा मन्त्री सोडारीले उपक्षेत्रीय अस्पताल डडेलधुराको प्रसंग जोडे । ‘त्यहाँका व्यवस्थापन समितिका अध्यक्षले अस्पतालबाट तलव सुविधा केही लिएको छैन् भन्नुहुन्छ तर मासिक एक लाख १२ हजार गाडी सुविधा बापत लिने गर्नु भएको रहेछ । यसलाई कसरी हेर्ने ?’ केन्द्रको व्यवस्थापनमा रहेका स्थानीय तहका अस्पतालको प्रसंग झिक्दै उनले भने ।
कार्यक्रममा बोल्दै मन्त्री सोडारीले स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेष सुविधा दिने योजना तयारी गरेको बताए ।