काठमाडौँमा अब रेबिज रोगविरुद्धको खोप चौविसै घण्टा
काठमाडौँ, २० चैत । उपत्यकामा रेविज रोग बिरुद्धको खोप अब चौविसै घण्टा निशुल्क उपलव्ध हुने भएको छ ।
निशुल्क खोप सेवा उपलव्ध गराउँदै आएको सरकारी अस्पताल टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट चौविसै घण्टा सो सेवा उपलव्ध हुने भएको हो ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा गुणराज लोहनीले आज पदवहालीको क्रममा रेविज विरुद्धको खोप सेवा चौविसै घण्टा उपलव्ध गउने सम्वन्धी निर्णय गरे । उनले भने, ‘सेवालाई व्यवस्थित र सहज बनाउन केन्द्रीय अस्पतालको रुपमा रहेको शहिद शुक्रराजबाट यो सेवा पनि चौविसै घण्टा उपलव्ध हुने निर्णय भएको छ ।’
रेबिज विरुद्धको खोप उपलव्ध हुँदै आएको सो अस्पतालमा अहिलेसम्म विहान १० देखि ५ बजेसम्म मात्रै सो सेवा उपलव्ध छ ।
शुक्रराज अस्पतालमा बहुला कुकुर तथा भुस्या कुकुरले टोकेर रेबिजको आशंकामा उपत्यका र त्यसवरपरबाट रेबिज विरुद्धको सुई लगाउन आउनेको औषत दैनिक डेढ सय हुने गरेको छ ।
सम्पर्क इमेल : [email protected]