स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ मन्त्रालय
काठमाडौँ, १९ चैत । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा गुणराज लोहनी नियुक्त भएका छन् । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आज मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निमित्त महानिर्देशकको जिम्मेबारी दिएकी हुन् । यसअघि उनी राष्टिय बीमा बोर्डको कार्यकारी निर्देशक थिए ।
राज्य मन्त्री अर्यालले बीमा बोर्डको कार्यकारी निर्देशकमा स्वास्थ्य मन्त्रालय योजना महाशाखाका प्रमुख डा श्रीकृष्ण गिरीलाई लगेकी छन् । मन्त्रालयको योजना महाशाखामा भने जिल्ला जनस्वास्थ्य काठमाडौका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई ल्याइएको छ ।
आजबाट रिक्त भएको विभाग अन्तरर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा बीर अस्पतालका डाक्टर केदार सेन्चुरी गएका छन् ।
यता स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखामा डा दीपेन्द्र रमण सिंहलाई पठाइएको छ । चिकित्सा सेवा महाशाखाका प्रमुख रहेका डा भोलाराम श्रेष्ठलाई बीर अस्पताल पठाइएको छ ।
यस्तै मन्त्री अर्यालले परिवार स्वास्थ्य महशाखामा डा तारा पोखरेललाई जिम्मेबारी दिएकी छन् । परिवार स्वास्थ्यका निर्देशक डा विकास देवकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेबारी दिइएको छ । यता व्यवस्थापन महाशाखाका निर्देशक रहेका डा भीमसिंह तिंकरीलाई स्वास्थ्य मन्त्रालयको अनुमगन महाशाखामा ल्याइएको छ ।