‘देशभरका १७०० वटा वडा स्वास्थ्य संरचना विहीन !’

काठमाडौँ, १२ चैत । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले देशभर रहेका ६ हजार ७४३ वडा मध्ये करीब १७ सय वडाहरु स्वास्थ्यको संरचना विहीन भएको बताएकी छन् । उनले स्वास्थ्यका संरचनाविहीन ती वडाहरुमा प्रभावकारी ढंगले स्वास्थ्य सेवा पुरयाउन यतिवेलाको चुनौती रहेको जानकारी दिएकी छन् ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले संघीय संरचनामा मुलुक प्रवेश गर्दै गर्दा स्वास्थ्यका संरचनाका बारेमा गम्भीर ढंगले सोच्नुपर्ने बेला आएको भन्दै आफू त्यसबारेमा जानकारी लिने काम गरेको बताइन ।

‘स्वास्थ्यमा आएको धेरै भएको छैन । यसबीचमा मैले स्वास्थ्य क्षेत्रको बारेमा जानकारी लिने काम गरेकी छु । केही लिइसके केही लिने क्रममा छु,’ उनले भनिन्, ‘यसमध्ये संरचनालाई समान ढंगले व्यवस्थापन गर्न चुनौती देख्दछु ।’

त्यसअघि राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय र अहिलेको संघीय संरचनामा स्वास्थ्यको अवस्थाको बारेमा कसरी अघि बढ्ने भन्नेबारेमा पत्रकारहरुसंग सुझाव मागेकी थिइन ।

सोही अवसरमा बोल्दै स्वास्थ्य सचिव डा पुष्पा चौधरीले चरण चरणको छलफल पछि स्वास्थ्यको खाका तयार गरी मन्त्रिपरिषदमा पठाइएको जानकारी दिइन ।

मुख्य सचिवको नेतृत्वमा गठित समितिको पटक पटक छलफल पछि हामीले एउटा खाका तयार गरेका छौँ र मन्त्रिपरिषदमा पठाएका छौँ । उनले भनिन् ।

उनले नयाँ संरचनामा राष्टिय रोग नियन्त्रण केन्द्र थपिएको, औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग लगायतका संरचना यथावत रहेको भन्दै स्वास्थ्यलाई व्यवस्थित ढंगले अघि बढाउने काम भइरहेको बताइन ।

कार्यक्रममा स्वास्थ्य पत्रकारहरुले संघीय संरचना र स्वास्थ्य सेवाका बारेमा आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *