विशेष अदालतद्धारा सरकारी सेवामा कार्यरत दुई डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली ठहर
काठमाडौँ, २ चैत । विशेष अदालतले सरकारी सेवामा कार्यरत दुई जना चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गरेको छ ।
अदालतले स्वास्थ्य मन्त्रालयमा कार्यरत गाइनोकोलोजिष्टका डा सुनील आचार्य र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडामा कार्यरत डा रजनी अग्रवालको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करीब डेढ बर्ष अघि दायर गरेको रिटको आज अन्तिम सुनुवाई गर्दै विशेष अदालतले यस्तो फैसला सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सहित न्यायाधीशद्धय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशमा सुनुवाई हुँदा यस्तो फैसला आएको हो । अख्तियारले २०७३ भदौ ७ मा अग्रवाल र ८ गते आचार्यविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर गरेको थियो।
अख्तियारद्धारा दायर रिटमा डाक्टरद्धय आचार्य र अग्रवालले आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बनाई एमबीबीएस अध्ययन गरेको आरोप थियो । विशेषको यो फैसलापछि सरकारी दुई डाक्टर भ्रष्टाचारमा समेत दोषी ठहर भएका छन्।
करीब दुई बर्ष अघि नेपाल मेडिकल काउन्सिल, नेपालप्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवी तथा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले संयुक्त टोलीले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा करीव एक सय भन्दा बढी डाक्टरहरु पक्राउ गरेको थियो ।
त्यतिवेला सरकारी सेवामा कार्यरत झण्डै दर्जन बढीलाई अख्तियारले भ्रष्टाचारको मुद्धा सहित विशेष अदालतमा मुद्धा दायर भएको थियो । सरकारी सेवा बाहेकका चिकित्सकहरुलाई भने सीआइवीले जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो । जिल्ला अदालतमा मुद्धा चलेका सबैले सफाई पाएका छन् ।