पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने

काठमाडौँ, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच रहिआएको मित्रवत् सम्बन्ध चिरकालपर्यन्त थप सुदृढ तुल्याउँदै लैजानुपर्नेमा जोड दिए ।

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि तीन तहका निर्वाचन सफल भई नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले अब नेपालले स्थिरता र विकासका पाइला चाल्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

“विश्वका कतिपय मुलुकमा भएका द्वन्द्व र हिंसात्मक घटनाले अमूल्य मानवीय जीवनलाई पीडा दिइरहेको छ, अब यस्ता हिंसात्मक घटना अन्त्य हुनुपर्छ”, राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले भने।

सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत निकै अनुपम र उदाहरणीय रहेको बताउँदै पाकिस्तानले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको सिट संख्यामा वृद्धि गर्ने जानकारी दिए ।

दुई देशबीचको समस्याले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का गतिविधि र प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै पाकिस्तानी प्रधानमन्त्रीले आगामी दिनमा सार्कको भूमिकालाई सशक्त तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उनलाई शुभकामना दिने सिलसिलामा पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार यहाँ आएका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *