होली खेल्ने निहुँमा डिउटीकी नर्समाथि दुर्व्यवहार, छुट्याउन गएका डाक्टरसहितका कर्मचारी कुटिए

हुम्ला, १८ फागुन ।  होली खेल्न भन्दै जबरजस्ती अस्पताल प्रवेश गरेको एक समूहले जिल्ला अस्पताल हुम्लामा कार्यरत नर्स कमला शाही माथि दुर्व्यवहार  गरेका छन् । नर्सलाई जोगाउन पुगेका डाक्टर नविन रोकाया, हेल्थ असिस्टेन्ट लवि रावत तथा कार्यालय सहयोगी बुढे कामी सोही समूहको आक्रमणमा परेका छन् ।

अस्पतालका मेडिकल अफिसर डा. टासी लामाका अनुसार हिजो दिउसो करीब तीन बजेतिर ७ जनाको समूहमा आएको केटाहरुले अस्पताल प्रवेश गरी डिउटी नर्स शाही माथि जबरजस्ती लोला तथा रङ्ग दल्ने प्रयास गरेका थिए । प्रतिवाद गर्दा गर्दै केटाहरुले जवरजस्ती गरेपछि नर्स शाहीले रुदै गुहार मागेकी थिइन ।गुहार मागेको सुन्नासाथ डिउटीका डाक्टर रोकाया, हेल्थ असिस्टेन्ट रावल सहितका अन्य स्टाफहरु दौडेर त्यहाँ पुगेका थिए । सोही क्रममा केटाहरुले कुटपिट गरेका हुन् ।

‘उनीहरुले सिस्टर शाहीलाई समातेर जवरजस्ती रङ्ग दल्ने तथा अन्य दुर्व्यवहार गर्ने प्रयास गरेछन् । केटाहरुको चंगुलबाट फुत्कन नसकेपछि डक्टर भन्दै रुदै चिच्याइन । अनि हामीसबै दौडेर गयौँ र ‘अस्पतालमा आएर होली खेल्ने होइन’  डा रोकायले यसो भन्दै उनीहरुलाई तत्काल बाहिर जान निर्देशन दिनु भएको थियो तर उनीहरुले उल्टै दादागिरी शैलीमा त को होस हामीलाई आदेश दिने ?,’ भन्दै आक्रमण गरे डा लामाले भने ।

उनले सो क्रममा छुट्याउन गएका हेल्थ असिस्टेन्ट रावल , कार्यालय सहयोगी कामी र अस्पतालका प्रहरीलाई समेत चोट लागेको बताए । ‘रावललाई कुइनामा र हातमा चोट लागेको छ, बुढे कामीलाई लात्ताले हान्दा छातीमा असर गरेको छ । डा रोकाया माथि समेत कुटपिट भएको छ । छुट्याउन जाँदा अस्पतालका प्रहरीमाथि समेत चोट लागेको छ,’ डा लामाले भने ।

घटनापछि आएको प्रहरीले कुटपिटमा सम्लग्न भएको भन्दै सुरेन्द्र लामा र कृष्ण गुरुङलाई मात्रै समातेको छ । अरु भने फरार रहेका छन् ।
डा लामाले बेलुका स्थानीय क्लवका केही युवाहरु आएर आफ्ना केटाहरुले गल्ती गरेको भन्दै माफी दिन आग्रह गरेको बताए ।

यसैबीच घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुख, जिल्ला प्रहरी प्रमुख सहितको टोली बैठक बसिरहेको छ । १५ बेडको सो अस्पतालमा पाँच चिकित्सक सहित स्वास्थ्य कर्मीको टोली कार्यरत छ । अस्पतालमा दैनिक औसत ५० जना विरामी आउने गर्छन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *