मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै डीन कार्यालयमा उजुरी

काठमाडौँ १० माघ ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट सम्बन्धनप्राप्त निजी मेडिकल कलेजहरूले मनोमानी शुल्क असुलेको जनाउँदै एमबीबीएसका विद्यार्थीले मंगलबार डिन कार्यालयमा उजुरी दिएका छन् ।

आईओएमबाट योग्यताक्रम ९मेरिट० का आधारमा नाम निकालेका विद्यार्थीहरूलाई शुल्क पारदर्शी बनाउन माग गर्दै सरकारले तोकेभन्दा बढी रकम असुल्ने मेडिकल कलेजमाथि छानबिन गर्नसमेत उनीहरूले माग गरेका छन् ।

एमबीबीएस विद्यार्थी उज्वल भट्टराई, योगेश चौधरी, प्रशान्त चौलागाईं , दिलिप अर्याललगायत विद्यार्थीले काठमाडौं उपत्यकाभित्र र बाहिरका कलेजहरूले मनोमानी अतिरिक्त शुल्क असुलेको उजुरीमा उल्लेख गरेका छन् ।

साढे पाँच वर्षको एमबीबीएस अध्ययनमा निजी कलेजहरूले ट्युसन, परीक्षा, प्रयोगशाला, पुस्तकालय, होस्टल, इन्टरनेट, सुरक्षा, इन्टर्नसिपलगायत शीर्षकमा लिने शुल्क पारदर्शी गर्नसमेत विद्यार्थीले माग गरेका छन् ।

अध्ययन शुल्कमा एकरूपता ल्याउन डिन कार्यालयबाट योग्यताक्रमका आधारमा भर्ना गर्ने व्यवस्था भए पनि निजी मेडिकल कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क असुलेका छन् ।

सरकारले तोकेको अध्ययन शुल्कको शीर्षक खुलाई शुल्क लिन निर्देशन दिइए पनि निजी कलेजले बेवास्ता गर्दै आएका छन् । सरकारले तोकेको शुल्कका अतिरिक्त ५ देखि १० लाख रुपैयाँ मागेको विद्यार्थीको दाबी छ । उपत्यकाका मेडिकल कलेजले ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजले ४२ लाख ५० हजार रुपैयाँसम्म शुल्क लिन सक्ने व्यवस्था छ ।

यसैबीच महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको स्वतन्त्र विद्यार्थी युनियनले गैरकानुनी ढंगमा विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको आरोप लगाउँदै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको छ ।

स्ववियू सभापति डा. मिलन गैह्रेको नेतृत्वको विद्यार्थीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रको बोधार्थ शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानमा दिइएको छ ।

सरकारले तोकेभन्दा मनोमानी शुल्क असुल्न रोक्न माग गरिएको जानकारी दिँदै डा. गैह्रेले गरिब एवं जेहेन्दार विद्यार्थी आर्थिक एवं मानसिक समस्याबाट ग्रस्त भएको बताए ।

  • आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *