दुई नयाँ जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गर्न प्रमुख तोकियो

काठमाडौँ, १९ पुस । स्वास्थ्य मन्त्रालयले संघीय संरचना अनुसार थपिएका दुई जिल्लाहरु नवलपुर र पूर्वी रुकुमका लागि स्वास्थ्य प्रमुख तोकेको छ ।

मंगलबारको स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट दुई नयाँ जिल्लाका लागि स्वास्थ्य कार्यालय स्थापना गर्न  स्वास्थ्य प्रमुख तोकिएको हो ।

मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार नवलपुर जिल्लाको प्रमुखको रुपमा जनस्वास्थ्य प्रशासक शम्भू ज्ञवाली पठाइने भएको छ । उनी  भरतपुर महानगरपालिकामा कार्यरत थिए ।  यस्तै अर्को जिल्ला पूर्वी रुकुमको प्रमुखको रुपमा जनस्वास्थ्य अधिकृत शिब सार्कीलाई पठाइने भएको छ । उनी पश्चिम रुकुममा कार्यरत थिए ।

उपसचिव खनालले नयाँ प्रमुख तोकिएपछि सदरमुकाममा रहेर कार्यालय स्थापना गरी सञ्चालन प्रक्रिया अघि बढाउने काम गर्ने बताए । ‘उहाँहरु गएपछि कार्यालय कहाँ बनाउने, कति कर्मचारी चाहिने, कार्यक्रम कसरी सञ्चालन गर्ने आदि कुराहरु तयारी हुन्छ । उहाँहरुको मागको आधारमा विस्तारै अरु कर्मचारीहरुको व्यवस्थापन हुनेछ,’ खनालले भने ।

देश संघीय संरचनामा जाँदै गर्दा दुई वटा जिल्ला टुक्रिएका थिए । नवलपरासी टुक्रिएर अर्को जिल्ला नवलपुर बनेको थियो । रुकुमबाट टुक्रिएर पूर्वी रुकुम र पश्चिम रुकुम बनेको थियो ।

सरकारले नयाँ जिल्लाहरुको सदरमुकाम क्रमश नवलपुरको कावासोती र पूर्वी रुकुमको रुकुमकोटलाई तोकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *