बिजुलीको पोल र पैसा बाँढेको भन्दै स्वास्थ्य मन्त्री बोहोराबिरुद्ध उजुरी

बुटवल, १३ मंसिर । स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उनले आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो ।

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्यमन्त्री बोहोराले मतादातालाई प्रभावित गर्ने गरी शुद्धोधन गाउँपालिका–४ को जुगडीहवा र वडा नम्बर ५ को शीतलपाटीको थारु गाउँमा गत शनिबार राति २२ थान बिजुलीको पोल बाँढेको बताइएको छ ।

शुद्धोधन गाउँपालिका–४ का वडाध्यक्ष राजेन्द्र कँडेल, वडा नम्बर ३ का वडाध्यक्ष हेमबहादुर खड्का र वडा नम्बर ५ का वडाध्यक्ष पुन्यराम गौतम, वडा सदस्य हेमन्त थापा, भुनेश्वर थारुलगायत १०० जनाभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरी निर्वाचन आचारसंहिता विपरीत जनतालाई प्रलोभन दिने उम्मेदवारको उम्मेदवारी खारेजी गर्न माग गरेका हुन् ।

यसैबीच सो ठाउँमा निर्वाचन आचारसंहिता विपरीत बिजुलीको पोल खसालेको भन्दै निर्वाचन आचारसंहिता अनगुमगन समिति रुपन्देहीका सदस्य खिमप्रसाद अर्यालको टोली सोही ठाउँमा पुगी स्थलगत अध्ययन गरेको छ ।

निर्वाचन अधिकृत कार्यालयको आचारसंहिता अनुगमन टोलीले आचारसंहिता उल्लंघनको अनुगमन गरी तत्काल ती पोल शुद्धोधन गाउँपालिकाको मातहतमा राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए । निर्वाचनपश्चात् आवश्यक छलफल गरी आवश्यक ठाउँमा गाउँपालिकाले ती पोल वितरण गर्ने भएको छ ।

मन्त्री बोहोराले भने आफूले आचारसंहिता विपरीत हुने गरी कुनै काम नगरेको भन्दै विद्युत् पोल वितरण गरेको आरोपको झुट भएको बताएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *