स्वास्थ्य मन्त्रालयको १२ औँ तहमा बढुवाको लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ, ७ मंसिर । स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको दुई वटा प्रमुख विशेषज्ञ पद (१२ औँ तह)मा बढुवाको लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रालयमा हिजो बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिसमा पर्नेहरुमा कोशी अञ्चल अस्पताल प्रमुख डा. रोशन पोखरेल, सुदूरपश्चिमका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. सुशील प्याकुरेल र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेल छन् ।

तहको हिसावले सचिव सरहको मानिने प्रमुख विशेषज्ञ पदमा अहिले डा. पुष्पा चौधरी र डा. विनोदमान श्रेष्ठ छन् । मन्त्रालय स्रोतका अनुसार आगामी मन्त्रीपरिषद बैठकमा यी तीन जनाको नाम निर्णयका लागि पेश गरिनेछ ।

यसअघि गत जेठमा तीनवटा रिक्त प्रमुख विशेषज्ञ पदका लागि पाँच जनाको नाम सिफारिस भएको थियो । अहिलेका प्रमुख विशेषज्ञद्धय, चौधरी र श्रेष्ठ सहित डा. दिनेश श्रेष्ठ, डा. रोशन पोखरेल र डा. दिपेन्द्ररमण सिंहको नाम सिफारिस भएको थियो ।

त्यतिखेर डा. पोखरेल र डा. सिंह पाखा परेका थिए । यसपटकको सिफारिसमा डा. पोखरेल त परे तर अघिल्ला पटक सिफारिसमा परेका डा. सिंह सिफारिसमा परेका छैनन् ।

लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य अध्यक्ष रहने स्वास्थ्य मन्त्रालयको बढुवा समितिमा मुख्य सचिव, लोकसेवाका सदस्य, विषय विज्ञ र स्वास्थ्य मन्त्रालयमा सचिव सदस्यसचिव रहने प्रावधान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *