एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउन पाँच लाख, कसरी चोरिन्थ्यो चिट ?

कमजोर विद्यार्थीले लाखौँ खर्च गरी गोप्य डिभाइसमार्फत चिट चोरेर एमबीबीएस को प्रवेश परीक्षामा नाम निकाल्ने गरेको खुलेको छ ।
प्रहरीले शनिबार यस्तो ठूलो गिरोहलाई पक्राउ गरेको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को प्रवेश परीक्षामा सयौँ विद्यार्थीलाई म्यागनेटिभ साउन्ड डिभाइसमार्फत चोरी गराउने समीर झासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
राजधानीका विभिन्न परीक्षा केन्द्रमा प्रहरीले छापा हानी विद्यार्थी, मध्यस्थकर्ता र गिरोहका नाइकेलाई पक्राउ गरेको हो । ६ जना विद्यार्थीलाई गोप्य डिभाइससहित पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए । पाँचजना मध्यस्थकर्ता र तीनजना गिरोहका नाइके पनि पक्राउ परेका छन् ।
प्रहरीको अप्रेसनपछि भागेका गिरोहका नाइके झा सिन्धुलीबाट पक्राउ
प्रहरीले अप्रेसन सुरु गरेको थाहा पाएपछि गिरोहका नाइके समिर झा भागेका थिए । उनलाई सिन्धुलीबाट पक्राउ गरिएको अपराध महाशाखाका एसपी उमाशंकर पञ्जियारले बताए ।
उनीसँग गिरोहका अर्का नाइके नवराज गौतम पनि पक्राउ परेका छन् पक्राउ पर्ने मध्यस्थकर्तामा सप्तरीका शैलेन्द्रकुमार झा, सर्लाहीका मुकेश राय, सप्तरीका आशुतोष झा, धनुषाका अजय यादव र महोत्तरीका हिरेन्द्र शर्मा छन् ।
यस्तै, गोप्य डिभाइसमार्फत चिट चोर्ने विद्यार्थीहरू सप्तरीका राहुल झा, मोरङका सक्षम भण्डारी, सप्तरीकी शिखा झा, महोत्तरीका महेन्द्र ठाकुर र राजीव सिंह तथा धनुषाका सञ्जय यादव छन् । उनीहरूले सयौँ विद्यार्थीलाई त्यसरी चिट चोराएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
पाँच लाखमा चिट चोरी
त्रिभुवन विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा नाम निकाल्दै तीव्र प्रतिस्पर्धा हुन्छ । अझ छात्रवृत्तिमा त तीक्ष्ण क्षमता भएका विद्यार्थीले मात्र नाम निकाल्छन् ।तर, पढाइमा कमजोर विद्यार्थीले पनि चिट चोरेर सजिलै छात्रवृत्तिमा नाम निकाल्ने गरेको अपराध महाशाखाका एसपी पञ्जियारले बताए ।
‘यसरी चिट चोराएबापत पाँच लाखको लेनदेन हुने गरेको पाइयो,’ उनले भने, ‘कतिपयले पैसा दिइसकेका थिए भने केहीले आधा पैसा दिइएको खुलेको छ ।’ यसमा ठूलो माफिया नै संलग्न रहेको प्रहरी आशंका छ ।
झाले केयूलगायत विश्वविद्यालयको एमबिबिएस प्रवेश परीक्षामा पनि यसैगरी चिट चोराउने गरेको खुलेको छ ।
संगठित अपराध मुद्दा चल्ने
पक्राउ परेकामाथि प्रहरीले ठगी र संगठित अपराध मुद्दा चलाउने तयारी गरेको छ । देशको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई नै असर पु¥याउने गरी संगठित रूपमा अपराध गरेकाले संगठित अपराध मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
‘यो नक्कली प्रमाणपत्रधारी चिकित्सकजस्तै गम्भीर विषय हो,’ एसपी पञ्जियकार भन्छन्, ‘हामी कडा सजाय हुने गरी मुद्दा चलाउँछौँ ।’ पक्राउ परेका झा एमबीबीएस पढ्न विद्यार्थीलाई विदेश पठाउने कामसमेत गर्दछन् । उनले ह्वाटस्एपमार्फत त्यससम्बन्धी प्रचार गरेर विद्यार्थीसँग पैसा असुलेको प्रहरीले जनाएको छ ।
विगतमा उन्मुक्ति दिँदा दोहोरियो
यस्तो प्रविधिमार्फत चिट चोरी गर्नेहरू गत ९ वैशाखमा पनि पक्राउ परेका थिए । एमबीबीएस तहको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी गर्ने चिकित्सकद्वय अभिषेक आचार्य र मनसा भोहरालाई प्रहरीले पक्राउ गरेको थियो ।
भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट तथा आचार्य कमलपोखरीस्थित किस्ट कलेलबाट पक्राउ परेका थिए । त्यतिवेला दुवैजना सोर्सफोर्सका आधारमा छुटेका थिए । सिआइबीले उनीहरूलाई पक्राउ गरेकोमा धेरैजना फस्ने भएपछि दबाबकै भरमा विस्तृत अनुसन्धान नगरिएको स्रोत बताउँछ ।
कसरी चोरिन्थ्यो चिट ?
म्याग्नेटिभ साउन्ड स्पिकर प्रविधिबाट चिट चोर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले टिसर्ट तथा सर्टमा एउटा–एउटा सिमकार्ड डिभाइस राखेका थिए ।
जसको सानो तार पाखुरासम्म पु¥याइएको थियो । त्यसको सम्पर्क कानमा नदेखिने गरी राखिएको अर्को म्याग्नेटिभ डिभाइससँग सम्बन्ध हुन्छ ।
शरीरमा राखिएको डिभाइसमा फोनमार्फत सम्पर्क हुने र कुनै ठाउँमा भएका व्यक्तिहरूले सबै प्रश्नको जवाफ भनिदिने गर्थे । सोहीअनुसार उनीहरूले सबै प्रश्नको जवाफ मिलाउने गरेका छन् ।
‘उनीहरूले सो डिभाइसबाट सुन्ने मात्र गरेको देखिन्छ,’ प्रश्नहरू कसरी गिरोहले पाए भन्नेमा हामीले अनुसन्धान गरिरहेका छौँ,’ पञ्जियारले भने, ‘बाहिर रहेका गिरोहका व्यक्तिहरूले प्रश्नपत्र सजिलै पाउनुमा यसमा परीक्षामा संलग्न व्यक्तिहरूको पनि संलग्नताको आशंका गरिएको छ ।’
नामी कलेज, अरुणोदय र बागमती स्कुलबाट परीक्षार्थीहरू पक्राउ परेका हुन् । उनीहरूको कानमा राखेको म्याग्नेटिभ डिभाइस निकाल्न समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
- आजको नयाँ पत्रिकामा नवराज मैनालीको समाचार
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



