लापरबाहीपूर्ण उपचारले बिरामीको मृत्यु भए क्षतिपूर्ति चिकित्सकले नै तिर्नुपर्ने

काठमाडौँ, २ असोज । चिकित्सकको लापरबाहीले उपचाररत व्यक्तिको ज्यान गएको भन्ने घटना बढीरहेका बेला सरकारले त्यसलाई रोक्न कडा कानून बनाउने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले उपचारका क्रममा लापरबाही भई विरामीको ज्यान गए सम्वन्धीत चिकित्सकले नै विरामीको परिवारलाई क्षतिपूर्ति भर्नुपर्ने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठक पछि बोल्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु हुने क्रममा बढेको, अंगभंग हुने र जीवनभर अपांग हुने क्रम बढेको जनगुनासो आएपछि त्यसलाई रोक्न र चिकित्सकलाई थप जिम्मेबार बनाउन यस्तो कानून ल्याउन स्वास्थ्यलाई निर्देशन दिएको बताए ।

उनले पछिल्लो समय अस्पतालमा चिकित्सकको लापरबाही भएको र न्याय नपाएको भन्ने विरामी पक्षको आवाज आइरहेको छ । त्यसैले यसलाई सम्वोधन गर्न र चिकित्सकलाई जिम्मेबार बनाउन यस्तो कानून ल्याउन निर्देशन दिएको बताए ।

यता चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको जनाएको छ । उसले निर्णय फिर्ता नलिए तत्काल कडा आन्दोलनमा उत्रिने बताएको छ ।

संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले भने, ‘हामीले पनि आधिकारिक निर्णय हेर्न पाएका छैनौँ । अहिले खोज्दैछौँ । तर यदि मिडियामा आएको कुरा सत्य हो भने त्यो दुर्भाग्यपूर्ण हो । यसलाई तत्काल नसच्याय हामी कडा आन्दोलनमा उत्रिन्छौँ।’

उनले सरकारको यो निर्णयले अस्पतालमाथि हुलहुज्जत गर्ने, तोडफोड गर्ने र रकम असुल्ने समूहलाई प्रोत्साहन गरेको बताए । ‘हामी जेल विद आउट बील लागू गर भन्ने आन्दोलनमा छौँ तर सरकार हाम्रो मागको ठिक विपरीत चिकित्सकलाई नै थप तर्साउने निर्णय गर्दैछ । यो कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *