काठमाडौँ नेशनल मेडिकल कलेज पुगेर त्यत्तिकै फर्कियो स्वास्थ्यको अनुगमन टोली

काठमाडौँ, ९ भदौ । काठमाडौँ नेशनल मेडिकल कलेज प्रशासनले अनुगमन गर्न गएको स्वास्थ्य मन्त्रालयको टोलीलाई त्यसै फर्कादिएको छ । सम्वन्धनको विषय सर्बोच्च अदालत, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसंग जोडिएको र अहिलेसम्म स्वास्थ्यको कुनै सरोकार नभएको भन्दै टोलीलाई फर्कादिएको हो ।

अनुगमन गर्न नपाएको स्वास्थ्यको टोलिलै हिजै स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र स्वास्थ्य सचिव डा किरण रेग्मीलाई प्रतिवेदन बुझाएको छ ।

कलेज सञ्चालक डा जैनुद्दिन अन्सारीले स्वास्थ्य मन्त्रालयको टोलीले आधिकारिक पत्र नलिइ अनुमगन गर्न भन्दै आएपछि आफूहरुले फर्काइदिएको बताए ।

‘उहाँहरु आउनु भएको थियो तर कुनै आधिकारिक पत्र थिएन । कुनै पत्रिकाले समाचार लेखेको आधारमा अनुगमन गर्न भन्दै आउनु भएको रहेछ । हामी अहिले शिक्षा मन्त्रालयको अन्तरगत रहेकोले कि शिक्षा मन्त्रालयको पत्र लिएर आउनुस या थप छानवीन गर्न परे सर्बोच्च अदालत जानुस भनिदियौँ ,’ अन्सारीले भने ।

विहीबार विहान करीब ११ बजे पुगेको स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन गर्न नपाएपछि कलेज प्रशासनलाई आफ्नो उदेश्य बताएर फर्किएको थियो । मन्त्रालयका तर्फबाट टोलीका सदस्य एवं चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले कलेजको बारेमा विभिन्न टिका टिप्पणी आएपछि बास्तबिकता बुझ्न अनुगमन टोली पुगेको तर कलेज प्रशासनले अनुगमन गर्न नदिएको बताए ।

‘हामी हिजो विहान गएका थियौँ । उहाँहरुले अनुगमन गर्न मिल्दैन भन्नुभयो । जबरजस्ती गर्ने कुरा आएन, हामी सञ्चालक समक्ष हाम्रो कुरा राखेर फर्कियौँ ,’ डा श्रेष्ठले भने ।

उनले कलेज सञ्चालकहरुले अनुगमन टोलीसंग कानूनी रुपमा अघि बढेको केशमा स्वास्थ्य मन्त्रालयलाई अनुगमन गर्न दिन जरुरी नभएको भन्दै रोकेको बताए । डा श्रेष्ठले कलेज सञ्चालकले अस्पतालजन्य सेवा दिनका लागि स्वास्थ्यले स्विकृति नदिएको भन्दै अहिले सेवा नचलेको आफूहरुलाई बताएको पनि जानकारी दिदै सोही अनुसार प्रतिवेदन बुझाएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *