सँगै जिउने कसम तोडी आगो झोँस्न थालेपछि….

काठमाडौँ, ८ माघ । जीवनभर सँगै जिउने मर्ने र दुःखसुखमा साथ दिने कसम खाई करिब दुई वर्षअघि विवाह गरी गोरखपुरबाट नेपाल आउँदा सुनिता खटिकले सुन्दर सपना मात्र देखेकी थिइन् ।

सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पु¥याई भाग्छन भन्ने उनले सोचेकै थिइनन् । श्रीमानले जलाउने प्रयास गर्दा गम्भीर घाइते भएका नेपालगञ्ज नगरपालिका–१२ का २२ वर्षीया सुनिता अहिले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको श्ययामा छट्पटाइरहँदा यस्ता सपना देख्ने हरेक युवतीलाई सशङ्कित बनाउँछ ।

यता आमा अस्पतालमा असह्य पीडामा रहँदा उता घरमा आमाको काख नपाउँदा उनकी डेढ वर्षीया छोरी तड्पिरहेकी छिन् । गत बिहीबार घरमा सामान्य झगडा भएपछि श्रीमान् राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको छ ।

गाउँलेको सहयोगमा स्थानीय अस्पताल पु¥याइएकी सुनिताको त्यहाँ उपचार हुन नसकेपछि ‘अग्नि हिंसापीडित’ संस्थाको सहयोगमा काठमाडौँ ल्याइएको वर्न वार्डकी नर्सिङ इन्चार्ज अर्चना रञ्जीतले बताइन् । सुनिताको अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सक डा प्रितेश जैसवालले बताए । अहिलले उनलाई सो अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ । “धुवाँले फोक्सोमा कति असर गरेको छ भन्ने पत्ता लागेपछि मात्र अवस्थाबारे भन्न सकिन्छ,” उनले भने ।

छोराले बुहारी जलाउने प्रयास गरे लगत्तै फरार भएपनि सुनिताकी सासूले उनलाई उपचार गर्न काठमाडौँ ल्याएकी हुन् । “हामी सँगै बस्दैनौँ । घर अलि टाढा छ । उनीहरुबीच के भएर यस्तो घटना घट्यो मलाई थाहा भएन,” उनकी सासू दुखानाले भनिन्,। उनका अनुसार छ महिनादेखि छोरा बुहारी अलग अलग बस्दै आएका थिए ।

दुई वर्षअघि भारतको गोरखपुरस्थित दोहरियाबाट सुनिता विवाह गरी नेपाल आएकी थिइन् । श्रीमान रिक्सा चलाउने गर्थे । यसैबीच महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गई सुनिता र उनका आफन्तलाई भेटी सम्पूर्ण उपचार सरकारले बेहोर्ने र दोषीलाई कुनै हालतमा उम्कन नदिने बताए ।

उनले सुनिताको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए । “अब कोही पनि छोरी कुनै कारणले हिंसाको सिकार भई उपचारबाट वञ्चित हुन नदिन मन्त्रालयले ‘क्विक रेन्सपोन्स’ टिम बनाएको छ ।

टिमले यस्ता हिंसात्मक घटनाबाट महिला उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आउनबाट रोक्न काम गर्नेछ,” मन्त्री खड्काले भने । यसका लागि दुई हप्तामै नियमावली बनाई अपराधीलाई कारबाहीको कठघरामा ल्याउन सहयोग गर्ने उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *