नेशनल मेडिकल कलेजद्वारा आन्दोलनरत आवासीय चिकित्सकलाई १२ घण्टा भित्र क्वाटर छाड्न निर्देशन, आईओएम भन्छ-‘यस्तो गर्न मिल्दैन’

काठमाडौँ, ८ असोज । वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकहरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगन गरिएको जनाएको छ ।
कलेजले शैक्षिक सत्र २०८२ प्रथम वर्षका स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई १२ घण्टा भित्र कलेजबाट उपलव्ध गराईएको छात्राबास कोठा क्वाटर वा अन्य आवासीय सुविधा खाली गर्न निर्देशन दिएको छ ।
कलेज प्रशासनले बिहीबार जारी सूचनामा स्नातकोत्तर तह प्रथम वर्षका सम्पूर्ण आवासीय चिकित्सकहरूलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानसँग औपचारिक अनुरोध गरिसकेको समेत दावी गरेको छ ।
यसैगरी अर्को सूचना जारी नभएसम्मका लागि प्रथम वर्षका आवासीय चिकित्सकहरूको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी लगायतका सम्पूर्ण गतिविधिहरू स्थगित रहेको भनिएको छ ।
क्वाटर छाड्दै गर्दा आवासीय चिकित्सकहरुले आफूसँग रहेको कलेजको सम्पूर्ण सम्पत्ति छात्रावास वा प्रशासन कार्यालयमा बुझाई तोकिएको समयभित्र आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाइसक्नुपर्ने भनिएको छ ।
कलेजलाई आईओएमको पत्र – ‘शैक्षिक बातावरण बनाउनु’
कलेजले सम्पूर्ण विद्यार्थी फिर्ता लैजानु भन्दै चिठी लेखेपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले पनि जवाफ फर्काएको छ । उसले वार्ता र सम्वादबाट समाधान खोज्न र तत्काल शैक्षिक बातावरण मिलाउन कलेजलाई निर्देशन दिएको छ ।
आईओएमका सहायक डीन प्राडा अभिमन्यू झाले कलेजबाट चिठी आएको पुष्टि गर्दै त्यसको जवाफ पनि पठाईसकेको बताए । ‘यो कलेज प्रशासन र चिकित्सकबीचको आन्तरिक खटपट हो जस्तो लाग्छ । यो कुरा उहाँहरु आफैले टुग्याउनु पर्छ । विद्यार्थी फिर्ता लैजाने भन्ने कुरा त्यति राम्रो होइन । मिल्दैन पनि । हामीले सोही अनुसार निर्देशन दिएका छौँ,’ उनले भने ।
विभिन्न सात बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीका प्रतिनिधिहरुले अहिले काठमाडाँैमा आई विभिन्न निकायको ध्यानाकर्षण गराई रहेका छन् ।
यता आवासीय चिकित्सकको आन्दोलनमा नेपाल चिकित्सक संघ, विभिन्न कलेजका आवासीय चिकित्सकहरुको संस्थाले समर्थन गरेका छन् ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



