रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ संसदमा दर्ता

0
Shares

 

काठमाडौँ, ७ असोज । मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय अध्ययन, अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, २०८३ संघीय संसदमा दर्ता भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी हुन्।

नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य शिक्षा, अध्ययन तथा अनुसन्धानको विस्तार र सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले विधेयक तर्जुमा गरिएको मन्त्रि मेहताले बताएकी छन्।

संघीय संरचनाअनुसार स्वास्थ्य क्षेत्रमा सन्तुलित विकास गर्ने उद्देश्यले अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनमा रहेकाले मधेश प्रदेशमा समेत स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ।

प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि यसअघि नै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० जारी भई पूर्वाधार विकासको कामसमेत अघि बढिरहेको छ।

विधेयकअनुसार प्रतिष्ठानको केन्द्रीय कार्यालय सप्तरी जिल्लाको राजविराज नगरपालिकामा रहनेछ। प्रतिष्ठान स्वशासित संस्था हुने तथा अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संस्थाका रूपमा कानुनी व्यक्तित्व प्राप्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकमा प्रतिष्ठानको स्थापना तथा स्वरूप, पदाधिकारी, सभा, कार्यकारी परिषद् र प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरिएको छ।

मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय शिक्षा तथा अनुसन्धानको विकाससँगै आवश्यक दक्ष जनशक्ति उत्पादन र सर्वसाधारणलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी कानुनी आधार तयार गर्न विधेयक दर्ता गरिएको मन्त्रालयले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *