मिथ्याभास; चेतनाको वहिर्गमन कि समायोजन ?

- नेपाली हेल्थ
  • कुन्दन काफ्ले
– कुन्दन काफ्ले

मष्तिष्क हुनु भनेको चेतनासँग सम्बन्धित विषय हो । चराचर जगतमा रहेका सम्पूर्ण जीवित प्राणीहरु (वनस्पति वाहेक) मष्तिष्क भएकै आधारमा सजीवको चरित्र भित्र अटाउन सफल भएका छन् ।

मस्तिष्क चेतनाको उद्गम स्थल हो । चेतना जीवनको मेरुदण्ड हो ।चेतना गुमेको अवस्थामा कसैलाई पनि कदापि सजीव वा जीवित भनेर सम्बोधन गर्न सकिंदैन ।

भौतिक शरीर अस्तित्वको वाहिरी आवरण हो भने मन, मस्तिष्क वा चेतना सो अस्तित्व भित्र रहेको आन्तरीक सूक्ष्म कृयात्मक एकाइ हो । मस्तिष्कले शरीरका विभिन्न कृयाकलापहरुलाई निर्देशन, नियमन, नियन्त्रण र लेखाजोखा गर्ने कार्य गर्दछ । शरीरलाई मस्तिष्कले मनसँग जोडेर वाहिरी वातावरणसँग साक्षात्कार गराउँदछ । त्यसैले सजीवको सम्पूर्ण दैनिकी, मानसिक उतार–चढाव र आरोह–अवरोहरुमा मस्तिष्कको अविस्मरणीय भूमिका र योगदान रहेको हुन्छ । मस्तिष्क सम्पूर्ण विचारहरुको स्रष्टा पनि हो, भावनाहरुको द्रष्टा पनि हो । मस्तिष्क कै कारण प्रणीमा मान्छे सर्वश्रेष्ठ भएको छ ।

मानसिक सुस्वास्थ्यको कुरा गर्दा यो व्यक्तिको सिकाई, चिन्तनका साथै तन्दुरुस्तीसँग मात्र सम्बन्धित हुँदैन, बरु व्यक्तिको सम्पूर्ण गरिमा, मर्यादा र सक्षमतासँग पनि गाँसिएको हुन्छ । स्वच्छ आहार, विहार, विचार र व्यवहार स्वस्थ मस्तिष्कका प्रवल अवयवहरु हुन् भनेर भन्ने गरिन्छ । स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको वास भएझैं स्वस्थ मस्तिष्कमा स्वच्छ विचार र स्वच्छ विचारमा स्वस्थ व्यवहारको भाव झल्किएको हुन्छ । मानसिक स्वास्थ्य समस्याले सक्षमतासँग सम्बन्धित व्यवहार र विचारमा विचलन ल्याउने हुँदा सो ले गर्दा व्यक्तिले आफ्नो आहार, विहार, विचार र व्यवाहारवीचको संतुलन वा तालमेल गुमाउने गरेको पाइन्छ ।

बहुलाएको, मगज बिग्रेको अथवा होस् ठेगानमा नभएको भन्ने अभिव्यक्तिहरु देखिएको यही असन्तुलित वा अनियन्त्रित व्यवहारको भावलाई प्रतिविम्वित गर्ने औजार वा हतियारको रुपमा प्रयोग गरिंदै आएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको होस ठेगानमा हुँदैन भनेर भन्नुले सोझो अर्थमा मनोसामाजिक समस्या देखिएकाहरुको चेतना हराएको हुन्छ भन्ने आधारलाई बल प्रदान गर्नु हुन्छ । तर कुनै कोणबाट पनि (केही मानसिक स्वास्थ समस्या भएका व्यक्तिहरु वाहेक) मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु अचेत अथवा वेहोसीको अवस्थामा हुँदैनन् । बरु मानसिक स्वास्थ समस्याबाट चेतनाको बहिर्गमन हुनुको साटो यसको अन्तरगमन र समायोजन हुने कुरामा ठोकुवा गर्न सकिंन्छ । कम्तिमा स्किजोफ्रेनियाँमा नदेखेको कुरा देख्नु, नभनेको कुरा सुन्नु र नभएको स्वाद जिब्राले थाहा पाउनु यसलाई सबूत र आधार प्रदान गर्ने प्रमुख श्रोतहरु हुन् ।

कहिले काहीं कुनै नयाँ स्थानमा जाँदा सिजोफ्रेनियाँका विरामीहरुलाई भ्रम भई क्षणिक समयका लागि भने अन्तरदृष्टि गुमाएको जस्तो भान नहुने गरेको पनि हैन । त्यस्तो बेला म कहाँ छु भनेर आफूले आफैं हराएको जस्तो महसूस गरी केही समयका लागि भए पनि उनिहरु अतालिने गरेको देखिन्छ । तर त्यो स्थाई भने हुँदैन । उनीहरु स्वयम् आफूले दिशाको (पूर्व–पश्चिम, उत्तर–दक्षिण) भेद गर्न नसकेर त्यस्तो पस्थिति निम्तिएको हुन्छ ।

साधारणतया मानसिक रुपमा स्वस्थ्य छ भनिएको व्यक्तिलाई यस्तो समस्या भयो भने हाम्रो गाउँघर तिर यसलाई त “बञ्चक” लागेछ भनेर हाँसोमा उडाईन्छ तर सोही समस्या मानोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले भोगेको भनेर सुनाए भने होस ठेगानामा नहुने कडा खालकोे मानसिक रोग लागेछ, अव यसले जीवनभर केही गर्न सक्तैन भनेर जान्ने बुझ्नेबाट समेत विरामी साथै उसका आफन्तिहरुलाई अत्याइदिने र सोहि रुपले अथ्र्याइ दिने गरेको पाइन्छ ।

विरामीलाई आफ्नो छटपटी बिसाउन सहयोग र साहारा चहिएको बेला यस्ता किसिमका बुझाई भएका पात्रहरुले गर्दा यो स्वर्थले भरिएको समाजमा ऊ झन् एक्लो पर्ने गर्दछ । त्यसैले समस्याको स्वरुप र स्वभावलाई विचार गरी सोको सहि विष्लेशण हुनु आवश्यक छ । विश्लेषणकै क्रममा, चेतना चारैतिर प्रशारण हुनु पर्नेमा स्वभावको विपरीत यसको समायोजन हुन गयो भने मानसिक स्वास्थ्य समस्या हुन्छ भनेर भन्नु बरु बढि युक्ति संगत ठहर्ला । तर ठाडै समस्याको स्वभाव र गम्भिरतालाई विचारै नगरी बहुलाह र मगज विग्रेको भन्ने शब्दाबलीलाई प्रमाणीत गर्ने खालका भ्रमित वाक्यांस जस्तै मानसिक स्वास्थ्य समस्या भएकाहरुको होस हराएको हुन्छ अथवा होस ठेगानमा हुँदैन भनेर भन्नु र त्यस्तै समभाव झल्कने शब्दाबलीहरु प्रयोग गरेर समस्यामा भएकाहरुलाई उपहास गर्नु अतिरञ्जन वाहेक अरु केही हँदैन ।

मिथ्याभास हुनु होस ठेगानमा नभएर हो भनी मान्ने हो भने विज्ञानले होस ठेगानामा छ भनेर भनिएको व्यक्तिले समेत गर्मी मौसममा बेलुका कालो पत्रे सडक पेटी हिंड्दै गर्दा सडकमै केही निश्चित दुरीमा पानी जमेको जस्तो देख्छ भनेर खुलासा गरेको छ । जुन भ्रम अन्यथा नभई Mirage (श्रोत :  A text book of physics by H.C pradhan) का कारण उत्पन्न भएको दृष्टि दोष हो भनी प्रमाणीत गरिदिएको छ । त्यसैले सामान्य व्यक्तिलाई मिथ्याभास हुँदा Mirage को कारण उत्पन्न भएको भ्रम हुने तर मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई मिथ्याभास हुँदा चाहिं होस ठेगानमा नभएर उत्पन्न भएको भ्रम हुने भन्ने द्वेध चरित्रको कुरालाई पुष्टि गर्न लायकको कुनै ठोस वैज्ञानिक आधार र प्रमाण अहिले सम्म भेटिएको छैन । यस्तो आधारहीन शब्दको पछि लागेर मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई विना प्रमाण अड्कलबाजीका भरमा मेसो काटी अयोग्य सावित गराउने कुनै पनि कार्य हर–हालतमा स्वीकारयोग्य हुँदैन ।

होस ठेगानमा नभएको कथनलाई सत्य सावित गराउन पीडितलाई समाजमा भगवान् भरोसे विद्या झारफुक गर्न तिर लैजाने कार्य वा प्रचलन पनि बाजे–बराजूकै पालादेखि रहँदै आएको छ । जुन निन्दनीय मात्रै हैन आपत्तिजनक पनि छ ।

मनोसामाजिक समस्या, व्यक्तिहरुको कमजोर मनोदशा र दयनीय सामाजिक अवस्थाका कारण हुने गर्दछ । तर बलेको आगो मात्र ताप्न अभ्यस्त रहेका हाम्रा अग्रजहरुले समेत आफ्नो व्यक्तिगत स्वार्थको बसमा परी पीडितहरुलाई कमजोर, अनुत्पादक र निकम्वा ठान्दै संयुक्त रुपमा पारिवारिक बोझ र समाजिक कलंक सहितको बदनामीको कात्रो ओढाएर समुदायबाट एक्ल्याउने र मन् हतोत्साही तुल्याउने कार्य गर्दै आएको देखिन्छ । यस्ता–यस्तै विभिन्न कुरीति र कु–सँस्कारको जंजाल र व्यवहारजन्य अवरोधहरुका कारण मान्छे भएर पनि मनोसामाजिक समस्याबाट पीडित व्यक्तिहरु पशुभन्दा खराब जीवन जिउँदै आएका छन् ।

नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी २००६ को पक्षराष्ट्र भएको छ । महासन्धीले अतिरिक्त व्यवहारजन्य अवरोधहरु खेपेका मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरु थप जोखिममा रहेका हुन्छन् भन्ने हेक्का राख्तै राज्यस्तरमा त्यस्तो समुदायको पहँच बढाउन राज्यप्रदत्त निकायको ध्यान आकर्षण गराएको छ । उपरोक्त महासन्धीले मानसिक स्वास्थ समस्याबाट पीडित हुनेहरुलाई मनोसामाजिक अपाङ्गताको कोटी भित्र मात्र राखेको छैन बरु मानसिक स्वास्थ समस्याबाट प्रभावित भएका व्यक्तिहरु सदियौंदेखि संस्थागत अवरोध, व्यवहारजन्य अवरोध र दृष्टिजन्य अवरोधको मारमा परेर आफ्नो आधारभूत मानव अधिकारको समेत सही ढंगले उपभोग गर्न नपाएको स्थिति छ भनेर स्वीकारेको छ ।

त्यसैले होस हराएको अथवा होस ठेगानमा नभएको भन्ने आधारहीन तथ्यलाई आत्मसाथ गर्दै मनोसामाजिक समस्या भएकाहरुलाई वषौंदेखि खोरमा थुन्ने, राज्यमा सर्वसाधारणको पहुँचमा रहेको सेवा, साधन, श्रोत र सुविधाबाट अलग्याउने, सामाजिक कार्य सहभागिता र मूल प्रवाहमा समाहित हुनबाट रोक्ने कार्य गर्नु उनीहरुलाई न्युनतम मानव भई वाँच्न पाउने अधिकारबाट बञ्चित तुल्याउनु हो ।

यही कुरालाई दृष्टिगत गर्दै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रिय दस्तावेज सि.आर.पि.डि.ले विभिन्न धाराहरु मार्फत राज्यलाई मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरुका लागि समान व्यवहार र अवसरको सुनिश्चितता गर्नसाथै उनीहरुप्रति जवाफदेही रहननिर्देशन दिएको छ । यसका लागि राज्यले मनोसामाजिक स्वास्थ्य अनुकुलहुने गरी देश,काल र परिस्थिति सुहाउँदो उपरोक्त दस्तावेजको आसय बमोजिम मनोसामाजिक अपाङ्गताको हकमा नीति–नियम, कानून तथा कार्ययोजनाहरु बनाउनु पर्ने हुन्छ ।

मनगढन्ते मान्यताका आधारमा पछि पारिएका सिमान्तकृत मनोसामाजिक समस्याबाट प्रभावितहरुका समुदायको मानव अधिकारको रक्षा गर्न कानुन बनाउँनु राज्यको दायित्व पनि हो । त्यसैले पीडितहरुको समुदायलाई राहतको महसूस हुने गरी अन्तराष्ट्रिय सहयोगको संरचनाभित्र रहेर अधिकतम हदसम्म स्थानीय श्रोत–साधनको परिचालन गर्दै व्यावहारिक र कार्यन्वयन गर्न सकिने उपयोगी तथा सहज प्रावधानहरु राज्यले विकास गर्नु पर्दछ ।

राज्यले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको हक हित गर्ने ऐन–कानुन बनाउँदा, समस्या भोगेका व्यक्तिहरु माथि लगाइने आरोप तथा लान्छनाको प्रकृति र प्रभाव, गरिंदै आएका र हुने गरेका सम्पूर्ण किसिमका विभेदहरुको स्वरुप र स्वभावको समेत उच्च लेखाजोखा गर्दै न्याय संगत रुपले सबै सवालहरु अटाउने गरी बनाउनु पर्दछ ।

सकारात्मक विभेद तथा उपयुक्त अनुकूलताको महत्वलाई समेत आत्मसाथ गर्दै, केलाउँदै लक्षित वर्गको सकृय सहभागीतामा सि.आर.पी.डिको मर्म अनुरुप अन्तरकृया र विचार मंथन गर्न लगाएर ‘सवैका लागि मानसिक स्वास्थ्य’ भन्ने नारालाई फलिभूत बनाउन राज्यले कसरत गर्नु पर्दछ ।

त्यस्तै आफ्ना मातहतका सम्पूर्ण सरकारी, गैरसरकारी, निजीक्षेत्र लगायतसो सरहका अन्य समानान्तर निकायहरुले समस्या भएका पिडितहरुको घाउमा मल्हम लागेको महसूस दिलाउने गरी मनोसामाजिक अपाङ्गताको संवेदनशिलतालाई मध्यनजर गर्दै मनोसामाजिक स्वास्थ्य प्रवर्धन हेतु थप सेवा सुविधा प्रदान गर्न इच्छुक रहेर आफ्नो संस्थागत विधान तथा संरचनाको हेरफेर वापरिमार्जन गर्न चाहेमा उनीहरुलाई राज्यले उचित सहुलियत र छुटको व्यवस्था पनि गर्नुपर्दछ ।

यसका साथै समष्टिमा मनोसामाजिक सु–स्वस्थ्य कायम राख्नका लागि विभिन्न संघ–संस्थाहरु मार्फत संचालनहुने सम्पूर्ण गतिविधीहरुमा राज्यले अवलोकन मात्र नगरी आफूलाई आवश्यक समन्वयकारी भूमीका खेल्ने प्रमुख सहजकर्ताको रुपले स्थापित गर्न सक्नु पर्दछ ।

# स्वपैरविकर्ता काफ्ले कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन, नेपालसंग आवद्ध छन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *