स्वास्थ्यमा ‘हाटा’ प्रथामा रमाएकालाई अब घाटा ?

काठमाडौँ, ७ बैशाख । कार्यालयमा विहान हाजिर गर्ने र टाप ठोक्ने प्रबृत्तिलाई सरकारी कर्मचारीहरुले छोटकरीमा ‘हाटा’ प्रथा भनेर नाम राखेका थिए । ‘हाटा’ प्रथा स्वास्थ्यमा मात्रै होइन सबैजसो सरकारी कार्यालयमा देख्न सकिन्छ तर स्वास्थ्यमा अलि बढी हुने गरेको गुनासो सुन्ने गरिएको छ ।

खासगरी प्राविधिक क्षेत्रका कर्मचारीहरु सरकारीमा हाजिर गर्ने र निजीमा काम गर्ने गरेको भन्ने अलि बढी सुनिने गरेको छ । अझ कतिपय चिकित्सक माथि त सानो शल्यक्रिया गर्न सरकारीमा महिनौ पछि पालो लगाउने र निजी मोटो रकम तिरेपछि उनैले दोस्रो दिन नै काम फत्ते गरिदिने गरेको गुनासो बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भर्खरै सरुवा भई आएका प्रशासन तर्फका सचिव मधुसुदन बुर्लाकोटीले शुक्रबार सूचना निकाल्दै यस्तो गतिविधि रोक्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले मन्त्रालय अन्तरगर्तका प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुलाई सम्वोधन गरेर दिएको निर्देशनमा चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुको हाजिरी हेर्दा देखिने तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिएको गुनासो बढेको उल्लेख गरेका छन् ।

उनले यसरी कार्यकक्षमा गैर उपस्थिति हुनु प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकुल हुने भन्दै पदिय मर्यादा, आचरण र अनुशासन एवं विधिका पालना गर्न निर्देशन दिएका छन् ।

हिजो मात्रै स्वास्थ्यका चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले निजी तथा गैर सरकारी संस्थाहरुमा विदा लिएर वा नलिएर पूर्ण कालिन काम गर्ने गरेको गुनासो आएको भन्दै त्यसो नगर्न निर्देशन दिएका थिए ।

नयाँ सचिवका निर्देशनलाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कत्तिको पालना गर्ने हुन त्यो भने हेर्न बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *