अपाङ्गता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस : महत्व र उद्देश्य

हरेक वर्ष डिसेम्बर ३ अपाङ्गता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।

यो दिनको मुख्य उद्देश्य समाजका हरेक तहमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र हितको प्रवर्द्धन गर्ने र राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सबै पक्षमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे चेतना जगाउने हो।

विद्यमान अवस्था

विश्व जनसंख्याको १५ प्रतिशत भन्दा बढी (१.३ विलियन) व्यक्तिहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको प्रकाशित भएको छ। यि मध्य ८० प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरु कम विकसित मुलुकमा रहेको पनि आङ्कलन गरिएको छ।

६० बर्ष माथिका व्यक्ति हरु को कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको अपाङ्गता रहेको अनुमान गरिएको छ । महिला तथा बालबालिकाको हरुको कुरा गर्ने हो भने हरेक ५ मा १ महिला र हरेक १० मा १ बालबालिका जीवनको कुनै एक समयमा अपाङ्गता भोग्न बाध्य हुन्छन् ।

नेपालको जनगणना २०७८ ले नेपाली जनसंख्याको २.२ प्रतिशत कुनै न कुनै प्रकारको अपाङ्गता रहेको बताउँछ। यद्यपि अपाङ्गताको सहि पहिचानको कमि, समान परिभाषा नहुनु र अपाङ्गतालाई सामाजिक खेदको बिषयको रूपमा हेरिने हुनाले यसको व्यापकता अझै बढी हुन सक्ने विज्ञहरु बताउँछन्।

अपाङ्गता र पुनर्स्थापना

नेपाल सरकारको अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गताको वर्गीकरण दुई किसिमले गरेको छ। पहिलो शारिरिक अङ्ग वा प्रणालीको आधारमा १० किसिमको र दोस्रो अशक्तता को गम्भीरता को आधारमा ४ किसिमको।

अपाङ्गता स्वास्थ्य सँग मात्र सम्बन्धीत नरहि शिक्षा, सिप विकास र रोजगारी , सुरक्षा व्यवस्था, महिला तथा बालबालिका आधिकार, लैङ्गिक समानता, सामाजिक सुरक्षा र मनोरञ्जन आदि संग प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले यसलाई सामाजिक बिषयको रूपमा हेर्नु पर्ने तर्क विश्वभर यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरु सुझाउँछन्।

नेपालमा आपाङ्गता को पहिचान गरी अशक्तता गम्भीरता को आधारमा चार किसिमको अपाङ्गता पहिचान पत्र वितरण गर्ने व्यवस्था रहेको छ। उक्त पत्रको आधारमा अपाङ्गता भएका ब्यक्तिहरुले विभिन्न सुविधा जस्तै सामाजिक सुरक्षा भत्ता, बिमा, उपचारका सहुलियत, सरकारी सेवामा प्राथमिकता आदि दिइन्छ।

अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धी ऐन २०७४ अनुसार पुर्नस्थापना सेवा भन्नाले अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा सकृय जीवन निर्वाह गर्न सक्षम हुने गरि प्रदान गरिने चिकित्सकिय सेवा, जीवन उपयोगी व्यावसायिक तथा सीपमूलक तालिम, सहायक सामग्री औषधि उपचार, नियमित परामर्श तथा शैक्षिक र आर्थिक कार्यक्रम भन्ने बुझिन्छ।

आपाङ्गता भएका ब्यक्तिलाई फिजियोथेरापी, सहायक सामाग्री, मनोसामाजिक परामर्श, व्यवसायीक तालिमको जिवन भर आवश्यकता पर्छ। राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले पुनर्स्थापना तथा प्रशामक सेवा सर्वसुलभ र पहुँच योग्य बनाउन संघ, प्रदेश र स्थानीय तहमा स्थापना गर्ने उल्लेख गरेको छ।

पुनर्स्थापना सेवाले अपाङ्गता भएका ब्यक्तिहरुको दैनिक जीवन सरल बनाउनुको जिविकोपार्जन गर्न र साथै सामाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्न मद्दत गर्दछ। फिजियोथेरापी सेवा अपाङ्गता भएका ब्यक्तिहरुको पुनर्स्थापना को लागी महत्वपुर्ण पाटो जुन हरेक किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक हुन्छ।

फिजियोथेरापी द्वारा गरिने दुखाई व्यवस्थापन , मांशपेशी शसक्तिकरण, गमनशिलता प्रशिक्षण आदि द्वारा दैनिक जीवनका कृयाकलाप गर्न सहयोग पुग्दछ। आधुनिक चिकित्सा प्रणालीको अभिन्न अंग फिजियोथेरापी सेवा अस्पताल, निजी पुनर्स्थापना केन्द्र, मेडिकल कलेज, खेलकुद क्लव आदिमा केही हदसम्म भएतापनि अपाङ्गता भएका ब्यक्तिहरुको लागि सिमित सरकारी तथा गैर सरकारी संस्थाहरु द्वारा प्रदान गरिदै आएको छ।

यस बिषयमा फिजियोथेरापी सेवाको पहुँच बढाउन योग्य जनशक्तिको उत्पादन, रोजगारको सुनिश्चितता, सरकारी पुनर्स्थापना केन्द्रको स्थापना गर्नुपर्दछ। यद्यपि नेपाल सरकारले गरेका केही क्रियाकलाप सराहनीय छ।

अपाङ्गता र पुनर्स्थापना सम्बन्धी नेपाल सरकारले मेडिकल अफिसर र अन्य स्वास्थ्यकर्मी लाई दिने तालिम विश्वकै नमुना तालिम रहेको छ। यसैगरी साहायक सामाग्रीहरू को प्राथमिकता सूची तयार गर्ने नेपाल दोश्रो राष्ट्र हो। हालसालै बन्दै गरेको पुनर्स्थापना सम्बन्धी राष्ट्रिय रणनीति पनि नेपाल सरकारको पुनर्स्थापना प्रति बलियो प्रतिबद्धता हो।

यस वर्षको लक्ष्य

संयुक्त राष्ट्र द्वारा गरिएको अपाङ्गता र विकास प्रतिवेदन २०२३ को प्रारम्भिक निष्कर्षहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि दिगो विकासका लक्ष्य पुरा गर्नमा अझ कठिनाई देखिन्छ।

अतः सन् २०२३ को अपाङ्गता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस ‘दिगो विकासका लक्ष्यहरू पुरा गर्न अपाङ्गता भएका ब्यक्तिहरुको लागि र अपाङ्गता भएका ब्यक्तिहरुद्वारा एकीकृत कार्य’ भन्ने मुल नाराका साथ मनाइने संयुक्त राज्य द्वारा घोषणा गरिसकेको छ।

नेपालमा पनि सरकारी तथा गैरसरकारी संघ संस्थाहरूद्वारा यहि नारा र उद्देश्यका साथ अपाङ्गता भएका ब्यक्तिहरु सम्बन्धी चेतना जगाउने र उक्त व्यक्तिहरूको हक र अधिकार सुनिश्चित गराउने अवधारणाले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदै छ।

#नेपाल फिजियोथेरापी संघका महासचिव समेत रहेका कंडेल वीर अस्पताल फिजियोथेरापी युनिटका प्रमुख हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *