आइतबार देखि सात जिल्लाका ५० लाख बढी व्यक्तिलाई हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाईंदै

काठमाडौँ, १४ बैशाख । सरकारले देशका सात जिल्लामा आगामी १६ बैशाख देखि हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको बताएको छ ।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले अभियान अन्तर्गत यसपटक सात जिल्लाका १०१ पालिकामा रहेका ५० लाख ७८ हजार नागरिकलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ ।

उनले देशका १३ वटा जिल्ला हात्तिपाइले रोग मुक्त जिल्ला भएको, अरु ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको र चारवटामा औषधि सेवन कार्यक्रम सकेर सर्भे हुदै गरेको बताए ।

उनले बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताए । महाशाखाले अभियानमा ६५ प्रतिशत बढीले औषधि खाएपछि ती जिल्लामा सर्भे गरिने गरिएको छ ।

अभियानका लागि यसबर्ष सरकारले १२ करोड बजेट विनियोजन गरेको छ ।  त्यसमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको डा मरासिनीले बताए ।

आम हातीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल रहेका छन्।

हात्तिपाइले कस्तो रोग हो ?

हात्तिपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक प्रकारको सरुवा रोग हो । मसिनो धागो आकारको जुका जस्तै एक प्रकारको परिजिवीले यो रोग गराउँछ। यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ।

मानिसको शरीरमा यो यो परजिबी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका असरहरु शरीरमा देखिने गर्छ । यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन । धेरै जस्तो संक्रमण लक्षण बिनाको हुने भएकोले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ ।

त्यसैले हात्तिपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन गर्न जरुरी छ।

हात्तिपाइले रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?

महाशाखा निर्देशक डा मरासिनीका अनुसार हात्तिपाइले रोगबाट बच्न आइभरमेक्टीन, डाइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल  गरी तीन प्रकारका औषधि प्रयोग गरिन्छ । जुन पूर्ण रुपमा सुरक्षित छन् । यी औषधि विश्वभर नै प्रयोग हुने गरेका छन् ।

यी तीन थरिका औषधिहरुको प्रयोगले हात्तिपाइले रोग लागिसकेकाहरुको प्रभावकारी रुप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । यसले आन्द्रा र रगतका जुकाहरु मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ । अध्ययन तथा अनुसन्धानबाट यी तीनै थरिका औषधिहरु पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि विश्व् स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त हुन्।

हात्तिपाइले रोगविरुद्धको औषधि कसकसले सेवन गर्ने ?

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ ।

तर, निम्न व्यक्तिहरुले यो औषधि सेवन गर्न हुँदैन ।

  • दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु
  • गर्भवती र सात दिन सम्मका सुत्केरी
  • छारे रोगको समस्या भएका व्यक्तिहरु
  • पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु
  • सिकिस्त बिरामीहरु

सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु,अस्पताल भर्ना भएका बिरामीहरु र त्यस्ता बिरामीहरु जो जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका हुन्छन् । जस्तै: मिर्गौला रोगको डायलासिसका बिरामीहरु आदि ।

डा.  मरासिनीले हात्तिपाइले रोगबिरुद्धको औषधिको सेवनबाट ७२ मध्ये १९ देशले रोग निवारणको प्रमाणपत्र पाइसकेको छ । १४ वटा देशमा संक्रमण रोकिई सकेको छ । संसारमा ७४ करोड र नेपालमा १.५ करोड मानिस जोखिम मुक्त रहेको छ ।

अभियानमा यसपटक करीव ६ हजार स्वास्थ्यकर्मीहरु र ५८०० सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन हुने बताइएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *