असार ७ गते ‘विश्व योग दिवस’ मनाउने सरकारको निर्णय

काठमाडौँ, २८ जेठ । सरकारले यही असार ७ गते (जुन २१ तारिख) का दिन ‘विश्व योग दिवस’ मनाउने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय गरेको हो।
बैठकले प्रदेश तह र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ। विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय भएको छ।
योग ध्यानसँग सम्बन्धित संस्थाहरूलाई योग ध्यानका कार्यक्रमहरू सञ्चालन गरी दिवस मनाउन अनुरोध गर्ने मूल समारोह समितिले जनाएको छ।
असार ७ गने सञ्चालन हुने मूल कार्यक्रम प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा एस ओ एस स्कुल सानो ठिमी भक्तपुरमा सञ्चालन गर्ने र यसको सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई जिम्मेवारी दिइएको छ।
बैठकले मूल समारोहमा उपस्थितिका लागि नेपाल स्थित कूटनैतिक नियोगलाई परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com





नेपाली हेल्थ 

