विश्वका योग अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग सम्बन्धी ज्ञान/विज्ञानको क्षेत्रमा अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने बताएका छन् ।
नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले प्राकृति वातावरणको हिसाबले पनि नेपाल संसारभरका मानिसहरूका लागि योगाभ्यासको महत्वपूर्ण बन्न सक्ने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि तथा धरोहर भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिए ।
‘नेपालका तीन सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ। नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ’, उनले भने ।’
उनले नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योग ज्ञान(विज्ञान एवम् वास्तु इन्जिनियरिङको प्रयोग गरिएको पाइने बताए।
‘मठमन्दिर र मूर्तिकलामा होस या चित्रकला, पौभाचित्र ९थान्का० सबैतिर योगको प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा–इनार र राजकूलोका निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले योग नेपालकै अमूल्य निधि पनि हो।’
अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योग सम्वन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिनुपर्ने र व्यवस्थित ढङ्गले काम गर्दै यसबाट मुलुकमा योग पर्यटनको विकास गर्न सकिने प्रधानमन्त्री दाहालले बताए ।
योगको व्यवस्थित अध्ययन, अनुसन्धान र व्यवस्थित स्वामित्व लिएर हाम्रो ज्ञानभण्डार र जीवनलाई विश्वव्यापी रूपमा स्थापित गर्ने जिम्मेवारीसमेत हाम्रोसामु रहेको जनाउँदै प्रधानमन्त्री दाहालले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा शिक्षामन्त्री अशोककुमार राईले योगाभ्यास र अध्ययनलाई विद्यालय तहदेखि नै अपनाउँदै जान नीतिगत र कार्यक्रम योजना तर्जुमा गरिएको बताए। उनले प्रदेश र स्थानीय तहलाई पनि दिवस मनाउन आह्वान गरिएको जानकारी दिए ।
दिवसका अवसरमा आज बिहान रत्नपार्कको शान्ति बाटिकाबाट प्रभातफेरि सुरु भई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मूल कार्यक्रम आयोजना गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार नेपालमा पनि आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा दिवस मनाउने प्रस्ताव पारित भई सन् २०१५ जुन २१ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



