संसदमा कृष्णगोपाल श्रेष्ठको व्यङ्ग्य : स्वास्थ्यको बजेटमा १ रुपैयाँ कटौती गरियोस्

काठमाडौँ, ३ असार । सांसद कृष्ण गोपाल श्रेष्ठले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि छुट्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा १ रुपैयाँ कटौती गर्न सरकार समक्ष माग गरेका छन् ।
सरकारले स्वास्थ्यका लागि आगामी बर्षको बजेट ८३ अर्व ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रधिनिधि सभाको बैठकमा चलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्तको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिलेको बजेट पछिल्लो पाँच वर्ष यताकै कम हो । विश्व स्वास्थ्य संगठनले कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्यमा छुट्याउन पर्ने भनेको छ । म आफै स्वास्थ्य मन्त्री हुँदा पनि ८.७ प्रतिशतसम्म स्वास्थ्यको बजेट पुरयाएको थिएँ । त्यसलाई बढाएर १० प्रतिशत माथि पुरयाउनु पर्नेमा अहिले ४.८ प्रतिशत मात्रै छुट्याइएको छ । यो बजेटले संविधानको धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्वन्धी हकको विषयमा पनि केही काम गर्न सक्दैन् । यसैले १ रुपैयाँ कटौती गरौँ,’ उनले भने ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका श्रेष्ठले स्थानीय तहमा निर्माण भएका तथा निर्माण सम्पन्न भएका ५, १०, १५ बेडको अस्पतालका लागि चालु आर्थिक वर्ष मै तिर्नुपर्ने दायित्व १० अर्व माथि हुँदा बजेटमा ८ अर्व मात्रै आएको भन्दै आपत्ति जनाए । यस्तै सुर्तीजन्य पदार्थमा कर बृद्धि नगरी सरकारले जनस्वास्थ्यको सट्टा सुर्ती उद्योगीको पक्षमा देखिएको आरोप लगाए । उनले डब्लुएचओ एफसीटीसीको पक्ष राष्ट्र नेपालले ७५ प्रतिशत कर पुरयाउनु पर्नेमा ३३ प्रतिशतमा अडकिएको भन्दै प्रश्न उठाए ।
उनले वीर, शुक्रराज, गंगालाल, प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण, प्रसूतिगृह लगायतका अस्पताललाई विशिष्टीकृत अस्पतालको रुपमा अगाडी बढाउने योजना विगतका नीति तथा कार्यक्रममा आइसकेपनि यसपटक ती कार्यक्रम हराएको बताए ।
उनले बार्षिक ३ हजार बढीको मृत्यु सड्क दुर्घटनाबाट हुने गरेको भन्दै राजमार्ग छेउछाउमा बनाउने भनिएको ट्रमा सेन्टरको विषय पनि ओझेल परेको बताए ।
सांसद श्रेष्ठले स्वास्थ्यकर्मी समायोजन कारण दशौँ हजार स्वास्थ्यकर्मी समस्यामा परेको, ६ महिना देखि तलव पाएका छैनन् भन्दै यस तर्फ पनि सरकारको ध्यान नगएको बताए । उनले संघीय स्वास्थ्य सेवा ऐन छुट्टै बनाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद श्रेष्ठ नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख पनि हुन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



