मनमोहन कार्डियोथोरासिकले तीस करोड लागतमा एनेक्स भवन बनाउँदै
काठमाडौँ, १८ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा परीसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बनाउन लागेको नयाँ एनेक्स भवनको शिलान्यास गरेका छन् ।
अस्पताल परीसर भित्रको २३ आना जग्गामा उक्त एनेक्स भवन बन्न लागेको हो । अस्पतालका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले निर्माण शुरु भएको १९ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले समयमै निर्माण सम्पन्न गरेर सेवा विस्तार गर्ने योजना रहेको सुनाए ।
३० करोड रुपैयाँ लागतमा बन्न लागेको सो सेन्टर निर्माण सम्पन्न भएपश्चात थप ४० बेड थपिने बताइएको छ । अति विशिष्ठको समेत उपचार गर्ने योजना छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताए । उनले भने, “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी नै समृद्धिका काम गर्नेछौँ ।”
प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई अल्पविकसित देशको सूचीबाट विकसित देशमा स्तरोन्नति गरिने बताउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताए।
प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्दै ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक छ”, उनले भने ।
सम्पर्क इमेल : [email protected]