चार जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार
काठमाडौँ । छैटौँ स्वास्थ्य सेवा दिवसको अवसरमा ४ जना स्वास्थ्यकर्मीले नगद ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार पाएका छन् । एक जनालाई दिइने भनिएको नगद एक लाख राशीको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार भने दुई महिना पछि घोषणा गरिनेछ ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित विशेष समारोहमा मुख्य सचिव लोकदर्शन रेग्मीले चार जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित गरे ।
पुरस्कृत हुनेहरुमा झापा शान्तिनगरका सिअहेव दीपक सापकोटा, यदुकला आयुर्वेद औषधालय धनुषाका कविराज राम छविला यादव, बीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई र जिल्ला अस्पताल सिन्धुलीकी गाइनोकोलोजिष्ट डा सुमित्रा गौतम रहेका छन् । उनीहरुलाई आर्थिक बर्ष ७३/ ७४ को कार्यसम्पादन मूल्यांकनको आधाारमा पुरस्कृत गरिएको हो ।
यसअघि आजै दिने भनिएको एक लाख राशीको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार भने कसैलाई दिइएन । उत्कृष्ठ पुरस्कार दिने कार्यविधि तयार भइनसकेकोले पुरस्कार नदिइएको हो ।
मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारका दिने सम्वन्धमा मुख्य सचिवको संयोजकत्वमा छनौट समिति गठन भएको बताउँदै त्यसले गर्ने सिफारिसको आधारमा पुरस्कार दिइने बताए । गतवर्ष र यो बर्ष उत्कृष्ठ कर्मचारी छनौट गर्न सकिएन उनले भने, अब कार्यविधि बनेपछि दुई महिना भित्र उत्कृष्ठ कर्मचारी छनौट हुन्छ ।
छनौट समितिमा सामान्य प्रशासन मन्त्रालयका सचिव, स्वास्थ्य मन्त्रालय सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक र सचिवले तोकेको स्वास्थ्य मन्त्रालयका विशिष्ठ श्रेणी १२ औँ तहको व्यक्ति सदस्य सचिव हुने व्यवस्था गरिएको छ ।
सम्पर्क इमेल : [email protected]