स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेबारी पुन: डा. पन्तलाई
काठमाडौँ, २६ माघ । सर्बोच्चको आदेश पछि स्वास्थ्य मन्त्रालयले डा. राजेन्द्र पन्तलाई पुन स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेबारी दिएको छ । मन्त्रालयले आज उनलाई विभागको महानिर्देशकको जिम्मेबारी सम्हाल्न पत्र तयार गरेको छ । डा. पन्तले आइतबार पत्र बुझेर विभाग जाने बताए ।
स्वास्थ्य मन्त्री दीपक बोहराले गत ३० पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. पन्तलाई मन्त्रालय तानेर उनको ठाँउमा डा. तारानाथ पौडेलाई महानिर्देशकको जिम्मेबारी दिएका थिए ।
मन्त्रालय तान्ने निर्णय भएपछि डा. पन्तले गत ३ माघमा पदबाट सेवाबाट राजिनामा दिएको बताएका थिए । त्यसको दुई साता पछि अर्थात १७ माघमा उनी सर्बोच्च अदालत गई आफूलाई अन्यायपूर्ण ढंगले सरुवा गरेको दावी गर्दै रिट दायर गरेका थिए । त्यसको भोलिपल्टै सर्बोच्चले सरुवा गर्ने निर्णय कार्यान्वनय नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम र कारण देखाउ आदेश सुनाएको थियो ।
‘सोही आदेश अनुसार पत्र तयार भएको हो,’ मन्त्रालयका उपसचिव बाबुराम खनालले अगाडी थपे, ‘डा. पन्तले आइतबार आएर पत्र बुझ्छु भन्नु भएको छ ।’
त्यसो त यसअघि २ माघमा डा. पौडेलले महानिर्देशकको पत्र लिएर गएपछि डा पन्तले कुर्सी छाडिदिएका थिए । सोही दिन उनलाई विभागका कर्मचारीहरुले औपचारिक रुपमै विदाई समेत गरेका थिए ।
सम्पर्क इमेल : [email protected]