आर्यघाटमा आँखाको नानी संकलन, महिनामा ६० जनामा प्रत्यारोपण

84
Shares

काठमाडौँ, २९ भदौ । ‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो कार्यक्रम पुर्‍याएको हो ।

आँखादान गर्नेको संख्या आधा लाखभन्दा बढी भए पनि सो संख्याअनुसार नानी प्राप्त गर्न नसकेपछि तिलगंगा आँखा प्रतिष्ठानद्वारा संचालित बैंकले संकलन कार्यलाई आर्यघाट केन्द्रित गरेको जनाएको छ ।

मृत्युपछि गरिने अंग दानभित्र आँखा पनि पर्दछ । आँखाको नानीमा फुलो परी हुने अन्धोपनालाई हटाउन आँखाको नानी प्रत्यारोपण गरिने तिलगंगा आँखा बैंकका प्रबन्धक शंख नारायण त्वायनाले बताए । उनका अनुसार नेपालमा प्रतिसय व्यक्तिमा एकजना दृष्टिविहीन रहेका छन् ।

‘आँखाको नानीमा फुलो परेको अवस्थामा कुनै किसिमको औषधि छैन । यसको एक मात्र विकल्प भनेको आँखाको नानीलाई फेर्नु हो । जसले गर्दा अन्धो व्यक्तिले आँखा देख्न सक्छ,’ उनले भने । ३१ भदौ ०५१ बाट आँखाको नानी प्रत्यारोपण सुरु गरिएको थियो ।

‘सुरुवाती दिनमा कसैले आँखाको नानी दिँदैनथे,’ त्वायनाले भने, ‘हामीले मृत्युपछि दान गर्न सक्ने भएकाले नानी संकलन कार्यलाई पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म पुर्‍याएका हौँ ।’

नानी संकलन कार्य आर्यघाटकेन्द्रित
मानिसको अन्य अंग दान गर्नु र आँखाको नानी दान गर्नु फरक हुन्छ । त्वायनाले आँखाको नानी मानिस पूर्ण रूपमा मृत्यु भइसकेपछि निकाल्ने गरिएको बताए ।

‘धेरै अस्पतालले मृत्युपछि बैंकलाई खबर गर्दैनन्,’ उनले भने, ‘प्रत्यारोपण गर्ने बिरामीको संख्या दिनहुँ बढ्दै गएको छ । त्यसैले बढ्दो चापलाई न्यूनीकरण गर्न शव जलाउने स्थानमा गएर संकलन गर्छौं ।’ आर्यघाटमा पनि केही मृतकका परिवारले नानी दिन नमान्ने गरेको उनले बताए । प्रत्यारोपणको एकतिहाइ नानी आर्यघाटबाटै संकलित हुने गरेको उनले जानकारी दिए ।

आँखा बिग्रने समस्या भएकामा अधिकांश कामदार छन् । ‘आँखादान गर्न इच्छाएको व्यक्तिको कहिले मृत्यु हुन्छ, हामीलाई जानकारी हुँदैन,’ त्वायनाले थपे, ‘परिवारका सदस्यले पनि फोन गरेर बोलाउँदैनन् । बिरामीको संख्या बढ्यो । नानी दान गर्नेहरू भएनन्, त्यसैले हामीले आर्यघाटमा प्रचारप्रसार गर्दै संकलनको कार्य सुरु गरेका हौँ ।’

६० हजारले इच्छा जाहेर गरे, १० हजार प्रत्यारोपण
३१ भदौ ०५१ बाट तिलगंगा आँखा प्रतिष्ठानले आँखाको नानी प्रत्यारोपण सुरु गरेको हो । अस्पतालले नेपाल आँखा बैंकमार्फत नानी संकलन कार्यलाई तीव्रता दिएको छ ।

प्रतिष्ठानका अनुसार हालसम्म ६० हजारले आँखाको नानी दान गर्न इच्छा जाहेर गरिसकेका छन् । तर, दान गर्नेबाट कति संकलन भयो, त्यसको कुनै तथ्यांक नभएको बैंकका प्रबन्धक त्वायनाले बताए । सञ्चालन भएयता अस्पतालले १० हजार तीन सय ९० वटा आँखाको नानी संकलन गरी प्रत्यारोपण गरेको छ ।

प्रबन्धक त्वायनाका अनुसार नेपालमा प्रत्यारोपण गर्ने आँखाको नानी अपुग भएपछि चार सय ५७ वटा विदेशबाट समेत ल्याइएको थियो ।

महिनामा ६० नानीको प्रत्यारोपण

नेपाल आँखा बैंकका अनुसार हाल महिनामा ६० आँखाको नानीको प्रत्यारोपण हुने गरेको छ । ‘नानी ल्याएर परीक्षण गर्छौं,’ त्वायनाले भने, ‘आँसुमा एचआइभी, हेपटाइटिस बी वा सी देखिएमा त्यसलाई प्रयोगमा ल्याउँदैनौँ ।’

बैंकले मेचीदेखि महाकालीसम्मका आँखा अस्पतालमा नानी उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म गरिएको प्रत्यारोपणमा ३५ सयको संख्यामा पशुपति आर्यघाटबाट आँखाको नानी संकलन गरिएको बैंकले जनाएको छ ।

त्वायनाले महिनामा २० नानी आर्यघाटबाट मात्रै संकलन हुने गरेको बताए । ‘महिनामा ६० नानी संकलन हुने गरेको छ,’ उनले भने, ‘अन्धोपना भएका व्यक्तिहरू नानी प्रत्यारोपण गर्न भन्दै दिनमा एक सय ५० भन्दा बढी आउने गरेका छन् ।’

  • आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *