उपत्यका बाहिरका १६ मतदान केन्द्रमा साढे पैंतिस सय भोट खस्यो

0
Shares

काठमाडौँ, २५ भदौ । नेपाल मेडिकल काउन्सिलको हिजो सम्पन्न उपत्यका बाहिरको निर्वाचनमा ३ हजार ५५० भोट खसेको छ । सो भोट उपत्यका बाहिरका विभिन्न १६ स्थानमा रहेको मतदान केन्द्रमा खसेको हो ।

चार बर्षे कार्याकालका लागि एक उपाध्यक्ष र ८ सदस्य छनौट गर्न काउन्सिलले उपत्यका र उपत्यका बाहिर गरी दुई चरणको निर्वाचन तोकेको छ । हिजो भएको निर्वाचन पहिलो चरणको हो ।

अव दोस्रो चरणको निर्वाचन उपत्यका भित्र आगामी २९, ३० र ३१ भदौका दिन हुनेछ । त्यसका लागि भृकुटीमण्डपस्थित नेपाल पुलिसक्लव परिषर र जाउलाखेलमा प्रशासनिक प्रशिक्षण केन्द्रको भवन तोकिएको छ ।

काउन्सिलका प्रमुख निर्वाचन अधिकृत डा. पीआर जोशीले उपत्यका बाहिर ३ हजार ५५० भोट खसेको पुष्टि गर्दै सो संख्या अपेक्षा अनुरुप नै भएको प्रतिक्रिया दिए । उनले अव उपत्यकामा हुने निर्वाचनमा बाँकी धेरै चिकित्सकहरुले भोट गर्ने अपेक्षा राखेको बताए ।

उनले उपत्यका बाहिर हिजोको निर्वाचनमा भाग लिन नसकेका चिकित्सकले उपत्यकामा आएर भाग लिनसक्ने बताए । ‘भोट नदिएका चिकित्सकले आएर भोट दिन सक्नुहुनेछ । त्यसैले हिजो छुटेका चिकित्सकको हकमा पनि त्यो लागू हुन्छ । उपत्यकामा तीन दिन हुने निर्वाचनमा आएर दिनुहुन्छ होला,’ डा. जोशीले भने ।

काउन्सिलमा दर्ता भएका करीब २० हजार बढी चिकित्सकले भोट गर्न सक्ने यस निर्वाचनबाट १ उपाध्यक्ष र ८ सदस्यहरु छनौट हुनेछन् । उनीहरुको कार्याकाल चार बर्षको रहनेछ ।

काउन्सिलको निर्वाचनमा यसपटक तीन जनाले उपाध्यक्ष र २४ जनाले सदस्यमा उम्मेदवारी दिएका छन् । काउन्सिलले उपत्यकाको मतगणना सकिएपछि सबै मतपेटिका जम्मा गरी एकैपटक मतगणना गर्ने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *