नसर्ने रोगको समस्या र चुनौती, नियन्त्रणका लागि हाम्रा प्रयासहरु

नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा परिभाषित गरेको छ । आधारभूत स्वास्थ्य सेवाको उपलब्धता संगै निर्माण हुने स्वस्थ नागरिक राष्ट्रको सम्पत्ति भएकोले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बृद्धि गर्न त्यतिकै आवश्यकता पनि रहेको छ ।

त्यसो त नेपाल अहिले मुख्यरुपमा तीन फरक फरक प्रकृतिका स्वास्थ्य सम्बन्धी समस्यासँग जुझिरहेको छ । त्यसमा खासगरी सर्ने रोग, नसर्ने रोग र प्राकृतिक विपदबाट हुने जोखिम रहेको छ । संगसंगै सडक दुर्घटना, हिँसा र चोटपटकका कारण हुने स्वास्थ्य समस्या पनि थपिएको छ ।

एक हिसावले भन्ने हो भने मानव जीवनको विकास क्रमसंगै बिभिन्न स्वास्थ्य समस्याको ब्यापकताको साथै अन्य समस्या पनि थपिदै गएको छ । त्यसमा शुरुको अवस्थामा सरुवा रोगको व्यापकता संगै महामारीको रुप लिएको पाइन्छ र मानिसको सबैभन्दा बढी मृत्यु पनि सरुवा रोगले हुने गरेको थियो ।

त्यसलाई नियन्त्रण गर्नकै लागि सरकारले स्वास्थ्य सेवा विभागमा २०३० सालमा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्थापना गरि सरुवा रोग लगाएत अन्य रोगहरुको रोकथाम, नियन्त्रण र व्यवस्थापनामा काम गर्दै आईरहेको छ । तर आजको समयमा रोगको प्रकृति फेरिएको छ । सरुवा रोग भन्दा पनि नसर्ने रोग बढी रहेको छ । मृत्युदर पनि सरुवा रोगले भन्दा पनि नसर्ने रोगले बढी हुने गरेको छ । त्यसैले ईडीसीडीमा अहिले नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा स्थापना गरि नसर्ने रोगलाई पनि प्राथमिकतामा राखी रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धि कार्यक्रमहरु हुदै आइरहेको छ ।

स्वास्थ्यः
स्वास्थ्य भनेको कुनै पनि रोग वा अशक्तताबाट मुक्त हुनु मात्र नभएर शारीरिक,मानसिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो । (विश्व स्वास्थ्य संगठन)

नसर्ने रोगको के हो ?
एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, अर्को शब्दमा सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ । नसर्ने रोगहरुले लामो अवधि र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने गर्दछ । धेरै व्यक्तिहरुको अल्पआयुमै मृत्यु हुने तथा स्वास्थ्य क्षेत्रमा धेरै धनराशीको खर्च गराउने नसर्ने रोगहरु विश्वमा प्रमुख महामारीको रुपमा देखापरिरहेको छ ।

विश्व व्यापि रुपमा देखा परेको शहरीकरण, उमेर वृद्धि, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदुषण लगाएतका आदि कारणले गर्दा मानिसको जीवन र स्वास्थ्यमा जोखिम बढ्दै गैरहेको छ । यी कारणले गर्दा नसर्ने रोगहरु विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणहरुको रुपमा देखा परिरहेको हो ।

हाल नेपालमा हुने मृत्युको अवस्था (प्रतिशतमा)
१. नसर्ने रोगबाट :६६ प्रतिशत
२. चोटपटकबाट : ९ प्रतिशत
३. सरुवा रोग, मातृ मृत्यु र पोषणबाट: २५ प्रतिशत

नसर्ने रोगबाट हुने मृत्युलाई बिस्तृत रुपमा हेर्दा
१. मुटु तथा रक्तनलीको रोग (कोरोनरी रक्तनलीको रोगस् हृदयघात, मस्तिष्कघात)बाट : ३० प्रतिशत
२. दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र दम बाट: १० प्रतिशत
३. क्यान्सरबाट : ९ प्रतिशत
४. मधुमेह : ४ प्रतिशत
५. अन्य नसर्ने रोगहरु जस्तै: मानसिक, मिर्गौला, कलेजो, थाईराइड आदिबाट : १३ प्रतिशत

(Source: WHO Country Profile, 2018)

 नसर्ने रोगका प्रमुख जोखिम तत्वहरु 
१.धुम्रपान र सुर्तीजन्य पदार्थ: नेपालमा १५-५९ बर्षका वयस्क मध्ये २८.९ प्रतिशत (४८.३ प्रतिशतपुरुष, ११.६ प्रतिशत (महिला) ले हाल धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दछन् । लगभक एकतिहाइ  (३३.५ प्रतिशत)  बयस्कहरु घरमा  दोस्रो तहको धुम्रपानसँग एक्सपोज हुन्छन् ।  ती मध्ये ६६.२ प्रतिशत  दिनहु एक्सपोज हुन्छन् ।
२.अपर्याप्त शारीरिक क्रियाक्लाप:  नेपालमा  १८ – ६९ वर्षका वयस्कमध्ये ७.४ प्रतिशत (६.६ प्रतिशत) महिला, ८.२ प्रतिशत पुरुष) ले आवश्यकता अनुसार शारीरिक क्रियाकलाप गर्दैनन् । अझ् त्यसमा पनि शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा बढी निस्क्रियता रहेको छ ।
३. अस्वस्थकर खानपिन :  नेपालमा ९६.७ प्रतिशत (बयस्क ९६.३ प्रतिशत महिला, ९७ प्रतिशत पुरुष) ले प्रशस्त मात्रामा फलफुल र सागसब्जी प्रयोग गर्ने गरेको छैनन् ।  १०.१ प्रतिशत वयस्क (१०.४ प्रतिशत महिला, ९.८ प्रतिशत पुरुष) मा प्रशस्त मात्रामा फलफुल र सागसब्जी लिनु पर्छ भन्ने ज्ञान हुनुको साथै प्रशस्त मात्रामा लिने गरेको पाइएको छ ।  जवान व्यक्तिहरुमा फास्ट फुड प्रयोग गम्भीर रुपमा बढ्दै गएको छ ।  ७४.९ प्रतिशत बयस्कहरुले सहि तरिकाले नुनको प्रयोग गर्ने  गरेको र १०.६ प्रतिशतले बढी मात्रामा प्रयोग गर्ने गरेका छन् ।
४.मोटोपना : २० प्रतिशत बयस्कहरु (१९.८ प्रतिशत महिला र २०.२ प्रतिशत पुरुष) मा बढी तौल भएको पाइएको छ र ४.३ प्रतिशत (५.३ प्रतिशत महिला र ३.२ प्रतिशत पुरुष) मा मोटोपना रहेको छ ।
५. मद्यपान: १५-६९ वर्षका बयस्कमध्ये ७२.२ प्रतिशत (५६ प्रतिशत पुरुष,८६.५ प्रतिशत महिला) ले कहिल्यै अल्कोहल प्रयोग नगरेको र २३.९ प्रतिशत र २०.८ प्रतिशत वयस्कले प्रयोग गर्ने गरेको छन् जसमा ७ प्रतिशत (१३.१ प्रतिशत पुरुष, १.८ प्रतिशत महिला)  ले  भारी मात्रामा मध्यपान गर्दछन् ।
६. वायु प्रदुषण: ५५.१ प्रतिशत परिवार घरेलु उपयोगको लागी ठोस बायो फियुल्समा निर्भर गर्दछन (जनगणना २०७८), शहरी क्षेत्रमा यातायात र औधोगिक उत्सर्जनको कारणले हुने वायु प्रदुषण प्रमुख कारण हो ।
                                   (Source : STEPS  Survey 2019)
नसर्ने रोगहरुको समाजमा ब्यापकता (Tip of Iceberg ):
जसरी समुन्द्रमा माथि पट्टि आइसको टुप्पो देखिएको हुन्छ र त्यसको ठुलो हिस्सा समुन्द्रको पानी भित्र रहेको हुन्छ त्यसरी नै हाम्रो समाजमा नसर्ने रोगहरुका बिरामी धेरै भए तापनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेका छन् । जनचेतनाको अभावले धेरैजसो नागरिकले त आफुलाई यो रोग लागेको थाहा नै पाउदैनन् । थोरै संख्यामा बाहिर देखिने तर ठुलो संख्याका बिरामी समाज भित्र थाहा नभएर लुकेर रहने स्थिति नै Iceberg phenomenon हो । अहिले  देखिएका रोगहरु त केवल समुन्द्रको माथि पट्टि देखिएको आइसको टुप्पो (Tip of Iceberg) जस्तै  हो।
नसर्ने रोगको भार :
नसर्ने रोगहरुले रोगको रुपमा मात्र नरही सामाजिक, आर्थिक, वातावरणमा र समग्र देश विकासमा नै समेत नकारात्मक असर पारिरहेको हुन्छ ।
नसर्ने रोग लागि सकेपछि जीवनपर्यन्त उपचार गर्नुपर्ने, बढ्दो धान्ने नसक्ने स्वास्थ्य उपचारको खर्च र व्यक्तिको उत्पादनशिलतामा आउने ह्रास आदि कारणले गर्दा व्यक्ति, परिवार तथा समाजले आम्दानीको ठुलो हिस्सा यसमा खर्च गर्नुपरेको छ ।
बिरामी, अपाङ्गता वा अल्पआयुमै हुने मृत्युको कारण खेर गएका वर्षहरुमा सबैभन्दा ठुलो अनुपात (५१ प्रतिशत)  नसर्ने रोगहरुको कारणले गर्दा हुने गर्दछ। नसर्ने रोगको रोकथाम,नियन्त्रण र उपचार समयमै हुन नसकेमा दिगो विकासका लक्ष्यहरु हासिल गर्न कठिनाइ देखिन्छ ।  नसर्ने रोगहरुको उपचारको खर्चको कारणले वर्षेनी हाम्रो जस्तो देशमा थुप्रै घरपरिवार गरिवीको रेखामुनी धकेलिएका छन् ।
नसर्ने रोगबाट बच्न तथा स्वस्थ रहनको लागि ABCDE जस्तै सजिलो  उपाए गर्न सकिन्छ 
A= Avoid alcohol (मदिरापान सेवन नगर्ने)
B=Be physically active (शारीरिक रुपमा सक्रिय रहने)
C=Cut down on salt and sugar (नुन र  चिनीको कम प्रयोग गर्ने)
D=Don’t use tobacco products (सुर्तीजन्य  पदार्थको सेवन नगर्ने)
E=Eat plenty of fruits and vegetables (फलफुल र सागसब्जी प्रशस्त मात्रामा खाने)
यस बाहेक सकारात्मक सोचको विकास, ध्यान योग अभ्यास गर्ने, स्वस्थ जीवनशैली अपनाउने, तनाव व्यवस्थापन गर्ने, बिषादी नभएको खाना खाने, वातावरणीय स्वास्थ्यमा ध्यान दिने र आवधिक रुपमा स्वास्थ्य जाच (जस्तै: ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, आरएफटी र एलएफटी) गर्ने र समस्या भए चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्ने।

 Best Buys (थोरै लगानीमा धेरै किन्ने)

नसर्ने रोगको उपचारमा विश्वका मध्यम तथा गरिब राष्ट्रहरुले करिब ५०० विलियम अमेरिका डलर भन्दा बढी खर्च गर्दछन तर यी राष्ट्रहरुले यदि “BEST BUYS” अवधारणा अपनाएमा केवल ११.४ विलियम अमेरिकी डलर खर्चमा मात्र नसर्ने रोगको उपचार तथा रोकथाम गर्न सक्दछन भन्ने बिश्व स्वास्थ्य संगठनको भनाइ रहेको छ । “BEST BUYS” का उदाहरणहरु रक्सि तथा सुर्तीजन्य पदार्थमा कर बढाउनु, जनचेतना जगाउनु, नसर्ने रोगको समयमै निदान तथा उपचार गर्नु आदि हुन्।
बुटवल उपमहानगरपालिकाबाट गरेका कार्यहरु 
१. बुटवल उपमहानगरपालिका  अन्तर्गत रहेको स्वास्थ्य संस्थामा कार्यरत ३३ जना स्वास्थ्यकर्मीहरुको लागि आन्तरिक श्रोतको बजेटबाट नसर्ने रोगको रोकथाम र व्यवस्थापन सम्बन्धी प्याकेज ९पेन० बनाएर तालिम संचालन गरेको ।
२. स्वास्थ्यकर्मीहरुको लागि योग शिक्षा र योग अभ्यास कार्यक्रम संचालन गर्नुको साथै स्वस्थ रहनको लागि चाहिने सन्तुलित भोजनको बारेमा जानकारी गराएको।
३. बुटवल उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट नसर्ने रोगको स्क्रीनिंगको साथै मधुमेह  र उच्च रक्तचापको प्रारम्भिक किसिमको औषधी निशुल्क रुपमा उपलब्ध गराउने गरेको  ।
४. नसर्ने रोगको बारेमा स्वास्थ्य शिक्षाको साथै जनचेतना जगाउने कार्यक्रम संचालन गरेको ।
५. सम्पूर्ण स्वास्थ्य संस्थाबाट हुने रेकर्डिङ र रिपोर्टिंगमा नसर्ने रोगको  लागि  भएको छुट्टै महलबाट   मासिक रुपमा प्रतिबेदन पेश गर्ने गरेको ।
६. नेपाल सरकारले (आगामी पुस्ता, निरोगी पुस्ता) कार्यक्रम अन्तर्गत ३० बर्षमाथिका नागरिकका लागी मधुमेह, उच्च रक्तचाप, मृगौला र मुटुको निशुल्क स्क्रिनिंग अभियान संचालन गरेको छ ।
(*नोट: नेपाल सरकारको सन् २०१९ को बार्षिक रिपोर्ट अनुसार नसर्ने रोगबाट हुने मृत्यु ६६ प्रतिशतबाट  बढेर ७१ प्रतिशत पुगेको देखाएको छ। )

# पौडेल बुटवल उपमहानरपालिकामा स्वास्थ्य अधिकृतको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नसर्ने रोगको समस्या र चुनौती, नियन्त्रणका लागि हाम्रा प्रयासहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *