‘क्यान्सरको सबैभन्दा प्रभावकारी उपचार, समयमै रोग थाहा पाउनु पनि हो’
'लक्षण कुर्ने होइन, आफ्नो स्वास्थ्यको नियमित निगरानी गरौँ'

कर्णालीकी एक १७ वर्षीया किशोरी, केही महिना अघि उनले आफ्नो स्तनको छेउमा सानो गिर्खा महसुस गरिन् । उनले त्यसलाई केही दिनसम्म सामान्य ठानिन् । बढ्दै गएपछि परिवारको सल्लाहमा जब अस्पताल पुगिन । डाक्टरले क्यान्सरको शंका गरे । जाँच गर्न भने, उनले त्यसै गरिन् । अन्तिममा नतिजा डाक्टरले शंका गरे जस्तै क्यान्सर पुष्टि भयो ।
त्यतिबेला उनी र उनका परिवारले सोचेका पनि थिएनन् कि यो उमेरमा क्यान्सर हुन सक्छ। हुन पनि सामान्यतया हामीले सुन्दै आएका छौँ—“स्तन क्यान्सर त ४० वर्षपछि मात्र हुन्छ।” तर यो घटनाले एउटा कठोर यथार्थ उजागर गरेको छ कि क्यान्सर उमेरको सीमा मानेर आउने रोग होइन।
यथार्थ के हो भने करिब ९० प्रतिशत स्तन क्यान्सरका केसहरू ४० वर्षमाथिका महिलामा देखिन्छन्, तर बाँकी १० प्रतिशत कम उमेर समूहमा पनि पाइन्छ।
यो सानो प्रतिशत जस्तो देखिए पनि, त्यसभित्र यस्ता कैयौँ कथा लुकेका छन्, जहाँ “अझै समय छ, होइन होला, वा हुँदै होइन भन्ने” भन्ने सोचले ढिला गराएको हुन्छ। त्यसैले उमेर कुरेर होइन बस्ने होइन, सचेतना र सतर्कताका आधारमा अघि बढ्न जरुरी छ ।
लक्षण कुरेर बस्ने होईन
हामी प्रायः लक्षणलाई नै रोगको सुरुवात ठान्छौँ, तर वास्तविकता उल्टो छ। के बुझ्नु परयो भने लक्षण भनेको शरीरले दिएको अन्तिम चेतावनी हो।
क्यान्सरमा त्यो अझ बढी लागू हुन्छ । लक्षण देखिने बेलासम्म कहिलेकाँही शरीरभित्र धेरै नै असर गरिसकेको हुनसक्छ । परिवर्तन देखिन सक्छ । यदि ती परिवर्तनहरू नियमित जाँचमार्फत पहिचान गर्न सकियो भने, उपचार सरल, सस्तो र प्रभावकारी बन्न सक्छ।
त्यसैले अब ‘लक्षण देखिएपछि उपचार’ गर्न लाग्नु भन्दा ‘लक्षण देखिनु अघि नै पहिचान’ गर्ने हाम्रो स्वास्थ्य प्रणालीको मूल मन्त्र हुनुपर्छ।
त्यसका लागि वर्षमा कम्तीमा एक पटक जनरल चेकअप गर्ने संस्कार बसाल्नु पर्छ । यसो गर्दा क्यान्सर मात्रै होईन अरु धेरै रोगहरू सुरुवाती चरणमै पत्ता लगाउन सकिन्छ।
तर यहाँ अर्को गम्भीर प्रश्न उठ्छ, के अहिले नै सबै नागरिकका लागि यसरी जनरल चेकअप देखि क्यान्सर रोगको परीक्षण सम्भव छ ? के देशका सबै कुनाकाप्चामा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध छ ?
दुखका साथ भन्नुपर्छ सबै ठाउँमा छैन । तर अब भने नीति बनाउँदा गर्न सकिन्छ । अहिले हरेक पालिकामा आधारभूत अस्पतालहरु खुलेका छन् खुल्ने क्रममा छन्, ती अस्पतालहरुमा स्थानीय सरकारले व्यवस्था मिलाएर रुटिन जाँच गर्नुपर्छ । जनरल चेकअप गर्नुपर्छ । त्यसका लागि सरकारले आवश्यक बजेट, उपकरण र जनशक्तिको प्रवन्ध मिलाउनु पर्छ ।
कसरी मिलाउने ?
यस्तो काम स्थानीय तहले गर्न सक्छ । स्थानीय तहले आफ्नो वडाभित्र रहेका नागरिकहरूको स्वास्थ्य अभिलेख राख्ने, वर्षमा एक पटक आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र आवश्यक परे थप परीक्षणका लागि सिफारिस गर्ने प्रणाली विकास गर्न सक्छ। यदि प्रत्येक नागरिकको स्वास्थ्य अवस्थाको नियमित अनुगमन हुन थाल्यो भने, क्यान्सर जस्ता रोगहरूलाई ढिलो चरणमा मात्र देख्ने बाध्यता घट्न सक्छ।
साथै, विद्यालय तहदेखि नै स्वास्थ्य शिक्षा अनिवार्य बनाउनुपर्ने देखिन्छ। क्यान्सरकै कुरा गर्दा सरकारले गतवर्ष देखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप स्कुल स्कुलमै गएर दिन थालेको छ । अब सरकारले त्यसरी खोप दिन जाने टोलीसंग क्यान्सर सचेतना फैलाउने विज्ञहरु पनि पठाउनु परयो । खोप लिन गएका बेला किशोरीहरुलाई १० मिनेटमा स्तन तथा पाठेघरको क्यान्सर तथा व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिन सकेमा त्यसले भविस्यमा एक दमै ठूलो सकारात्मक प्रभाव पार्न सक्छ ।
मैले फेरी पनि भने,
क्यान्सरसँगको लडाइँ अस्पतालमा सुरु हुने होइन, यो त हाम्रो सोच र व्यवहारबाट सुरु हुन्छ।
अब हामीले लक्षण कुर्ने होइन, स्वास्थ्यको निगरानी गर्ने बानी बसाल्नुपर्छ।
हामीले डराउने होइन, बुझ्ने र जाँच गर्ने संस्कार विकास गर्नुपर्छ।
किनभने, क्यान्सरको सबैभन्दा प्रभावकारी उपचार भनेकै—समयमै थाहा पाउनु हो।
#बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन् ।
सम्पर्क इमेल : [email protected]








