‘राज्यले निजी क्षेत्रको भूमिकाप्रति अबमूल्यन होइन, सम्मान र सहकार्यको काँध मिलाएर अघि बढ्नु पर्छ’
आज ‘नेपाल मेडिकल सो तथा ल्याब एक्स्पो -२०२६’ को अन्तिम दिन । सन् २०१६ बाट सुरु भएको नेपाल मेडिकल तथा ल्याब एक्स्पो निरन्तर रूपमा हरेक वर्ष आयोजना हुँदै आएको छ।

यसले हजारौं चिकित्सक, स्वास्थ्यकर्मी, व्यवसायी तथा संस्थाहरूलाई ज्ञान, प्रविधि र व्यवसायिक अवसरहरू प्रदान गर्दै उल्लेखनीय रूपमा लाभान्वित गरेको छ।
आज यो एक्स्पो स्वास्थ्य क्षेत्रको एक विश्वसनीय, प्रभावशाली र सशक्त मञ्चको रूपमा स्थापित भइसकेको छ।
नेपाल मेडिकल शो केवल एक प्रदर्शनी होइन—यो नवप्रवर्तन, प्रविधि र सहकार्यको शक्तिशाली मञ्च हो। यहाँ प्रस्तुत गरिएका नवीनतम उपकरण, प्रविधि र समाधानहरूले भोलिको स्वास्थ्य सेवा कस्तो हुनेछ भन्ने दिशा निर्धारण गर्छन्।
यस्ता कार्यक्रमहरूले हामीलाई केवल अवलोकन गर्ने होइन, सिक्ने, जोडिने र रूपान्तरण हुने अवसर प्रदान गर्छन्।
……………………………………………………………………………….
मुलुकमा हाल करिब दुई तिहाई जनमत प्राप्त स्थिर सरकार रहेको सन्दर्भमा, विकास र सुधारका लागि “केही गरौँ” भन्ने स्पष्ट इच्छाशक्ति र सकारात्मक दृष्टिकोण देखिनु सुखद पक्ष हो।
यस्तो स्थिर राजनीतिक वातावरणले नीति निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउन महत्वपूर्ण अवसर प्रदान गरेको छ।
यस अवसरलाई सही रूपमा उपयोग गर्न सकेमा सरकार, निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाबीचको सहकार्य अझ सुदृढ भई स्वास्थ्य क्षेत्रसहित समग्र विकासमा उल्लेखनीय प्रगति हासिल गर्न सकिनेमा हामी विश्वस्त छौं। तर, यस उज्यालो सम्भावनासँगै हामीले केही यथार्थ चुनौतीहरूलाई पनि गम्भीर रूपमा लिन आवश्यक छ।
आज नेपालको स्वास्थ्य क्षेत्र भुक्तानी प्रणालीको ढिलासुस्ती, आपूर्तिकर्ताहरूको अड्किएको पूँजी, र स्वास्थ्य बीमा दाबी प्रक्रियाको जटिलता जस्ता समस्याहरूबाट गुज्रिरहेको छ।
सेवा प्रदान गरिसकेपछि पनि समयमै भुक्तानी नपाउनु केवल व्यवसायिक समस्या होइन—यो सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमै असर गर्ने संवेदनशील विषय हो।
स्वास्थ्य बीमा कार्यक्रमले नागरिकमा ठूलो आशा जगाएको छ, तर यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ। दाबी भुक्तानीमा ढिलाइ, व्यवस्थापन कमजोरी र प्रक्रियागत जटिलताले सेवा प्रदायक, आपूर्तिकर्ता र अन्ततः सेवाग्राही सबैलाई प्रभावित बनाएको छ।
यसै सन्दर्भमा, स्वास्थ्य आपूर्ति तथा मेडिकल उपकरण क्षेत्रले थप संरचनागत चुनौतीहरू पनि भोगिरहेको छ।
विशेषगरी, यस क्षेत्रमा प्राविधिक तालीमको अभाव स्पष्ट रूपमा देखिन्छ, जसका कारण आधुनिक उपकरण तथा प्रविधिको प्रभावकारी प्रयोगमा कठिनाइ उत्पन्न भइरहेको छ।
त्यसैगरी, भन्सार दरबन्दी सम्बन्धी असमानता र अस्पष्ट नीतिहरूले आपूर्ति लागत बढाएको छ, जसको प्रत्यक्ष असर स्वास्थ्य सेवाको मूल्यमा परेको छ। साथै, मूल्य अभिवृद्धि कर (VAT) सम्बन्धी व्यवस्था पनि यस क्षेत्रका लागि पुनर्विचार गर्नुपर्ने महत्वपूर्ण विषय बनेको छ।
यसैसँगै, हाल लागू गरिएको MRP (Maximum Retail Price) सम्बन्धी नयाँ व्यवस्था पनि व्यवहारिक रूपमा केही चुनौतीपूर्ण देखिएको छ। लागत संरचना, बजारको वास्तविक अवस्था र आपूर्ति शृंखलाको विविधतालाई पर्याप्त रूपमा ध्यान नदिँदा यसको कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ।
त्यसैले, MRP सम्बन्धी नीति अझ व्यवहारिक, लचिलो र वास्तविक लागतसँग मेल खाने हुनुपर्ने आवश्यकता हामी सबैले महसुस गरेका छौं।
………………………………………………………………………………….
स्वास्थ्य क्षेत्रका नीति तथा नियमहरू निर्माण गर्दा केवल सरकारी संरचना वा सरकारी पक्षलाई मात्र केन्द्रमा राख्नु हुँदैन।
स्वास्थ्य सेवा एक साझा प्रणाली हो, जसमा सरकार, निजी क्षेत्र, आपूर्तिकर्ता, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक सबैको समान भूमिका हुन्छ। त्यसैले नीति निर्माण प्रक्रिया समावेशी, व्यवहारिक र सबै सरोकारवालाको अनुभवलाई समेट्ने हुन आवश्यक छ।
नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी अत्यन्तै ठूलो र महत्वपूर्ण योगदान रहेको छ। अस्पताल, मेडिकल उपकरण तथा ल्याब सेवामा निजी क्षेत्रले राज्यसँग काँधमा काँध मिलाएर सेवा प्रवाह गर्दै आएको छ।
त्यसैले निजी क्षेत्रको भूमिकालाई अबमूल्यन होइन, सम्मान र सहकार्यका साथ स्वीकार गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ।
हामी सरकारसँग स्पष्ट रूपमा भन्न चाहन्छौं:
👉 भुक्तानी प्रणाली छिटो, पारदर्शी र विश्वसनीय हुनुपर्छ।
👉 स्वास्थ्य बीमा प्रणाली प्रभावकारी, उत्तरदायी र समयमै दाबी भुक्तानी गर्ने हुनुपर्छ।
👉 भन्सार, कर र नियमन प्रणाली स्वास्थ्य सेवामैत्री र व्यवहारिक हुनुपर्छ।
👉 प्राविधिक तालीम र क्षमता विकासलाई प्राथमिकतामा राखिनुपर्छ।
👉 MRP सम्बन्धी व्यवस्था पनि व्यवहारिक र लागत–संगत हुनुपर्छ।
किनकि, मजबुत आपूर्ति प्रणाली बिना सुदृढ स्वास्थ्य सेवा सम्भव छैन।
CHEMSAN सधैं समाधानको पक्षमा उभिएको छ:
👉 नीति सुधारमा सहकार्य गर्ने,
👉 नवीन प्रविधि भित्र्याउने,
👉 क्षमता विकासलाई प्रवर्द्धन गर्ने,
र स्वास्थ्य प्रणालीलाई दिगो, प्रभावकारी र सुदृढ बनाउने हाम्रो प्रतिबद्धता अटल छ।
………………………………………………………………………………………….
म एक व्यवसायी,
यहि निर अर्को सन्दर्भ पनि जोड्न चाहन्छु ।
गत २९ र ३० चैतमा आयोजना गर्ने गरि तय भएर स्थगित भएको नेपाल उद्योग बाणिज्य महासंघको ६० औँ बार्षिक साधारण सभा तथा निर्वाचन यहि बैशाख २१ र २२ बैशाखका दिन हुन गईरहेको छ ।
२१ बैशाखका दिन होटल रोयल टुलिप ग्वार्कोमा उद्घाटन समारोह र २२ बैशाखका दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुने कार्यक्रम तय भएको छ ।
मैले नेतृत्व गरेको CHEMSAN, FNCCI (नेपाल उद्योग वाणिज्य महासंघ) को एक वस्तुगत सदस्यका रूपमा पनि आवद्ध रहेको छ। यसले हामीलाई राष्ट्रिय स्तरमा निजी क्षेत्रको साझा मञ्चसँग अझ मजबुत रूपमा जोडिने अवसर दिएको छ।
यसपटक पनि म बस्तुगत संघ तर्फ रसायन तथा मेडिकल आपूर्ति संघको तर्फबाट प्रतिनिधित्व गर्दै सदस्य पदमा उम्मेदवारी दिएको छु ।
त्यसो त नेपाल उद्योग बाणिज्य महासंघमा मेरो यो पहिलो पटक होईन । यसअघि पनि म स्वास्थ्य क्षेत्रबाट नै प्रतिनिधित्व गर्दै सदस्य बनेको हुँ ।
CHEMSAN ले स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्था, सरोकारवाला निकाय तथा पेशागत समूहहरूसँग सधैं हातेमालो गर्दै सहकार्यको भावनासहित अगाडि बढ्दै आएको छ।
हामीले देशभर औषधि, मेडिकल उपकरण तथा ल्याब सामग्रीहरूको निरन्तर, विश्वसनीय र गुणस्तरीय आपूर्ति सुनिश्चित गर्ने, बजारमा पारदर्शिता कायम गर्ने, र स्वास्थ्य सेवा प्रणालीलाई अवरोधबिना सञ्चालनमा राख्ने जिम्मेवारी निर्वाह गर्दै आएका छौं।
मैले किन उम्मेद्वारी दिएँ ?
यस क्षेत्रमा गर्नु पर्ने काम धेरै छन् । तर राम्ररी हुन सकिरहेको छैन । मैले अहिले यो क्षेत्र संगै देशको अर्थतन्त्र उकास्नमा मेरो अनुभवले काम गर्न सक्छ भनेर नै उम्मेदवारी दिएको हुँ । मेरो काम र क्षमताका बारेमा सदस्य साथीहरु अपरिचित पनि हुनुहुन्न । मैले मेरो दुई कार्यकालमा गरेको कामहरु देख्नु पनि भएको छ ।
स्वास्थ्य महामारीका बेला, विपदका बेला, यसको व्यवस्थापनमा मैले लेखेको भूमिका मात्रै होईन महासंघको विधान संसोधनको बेलामा, अर्थतन्त्र खस्किएको बेलामा दिएको सुझाव र गरेका कामहरुका कारणले मेरो उम्मेदवारीमा सबै सदस्यहरुको साथ सहयोग रहन्छ भन्ने मेरो अपेक्षा छ र मलाई भोट हाल्नका लागि अनुरोध पनि गर्न चाहन्छु ।
………………………………………………………………………………..
अन्त्यमा फेरी पनि यहाँहरुलाई निमन्त्रणा गर्न चाहन्छु । आज प्रदर्शनी (एक्स्पो)को अन्तिम दिन हो ।
आजको यो प्रदर्शनी केवल आजका लागि होइन—यो भोलिको स्वास्थ्य नेपालको मार्गचित्र कोर्ने ऐतिहासिक अवसर हो।
त्यसैले आउनुहोस, एक्स्पो अवलोकन गर्नुहोस् । प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उपलव्धताबारे बुझ्नुहोस् । यसले तपाईँका योजनालाई सहज रुपमा अघि बढाउन मद्दत गर्दछ ।
सम्पर्क इमेल : [email protected]









