पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै

काठमाडौँ, ६ बैशाख । आम औषधि सेवन कार्यक्रम अन्तर्गत सरकारले आज र भोली (बैशाख ६ र ७ गते) पाँच बर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।

पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यसपटक भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिकालाई र करीव २९ लाख बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । यो कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएको थापाले बताए ।

भिटामिन ए ले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडो हुन रोक्छ । अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्छ । त्यसैले आफ्ना बालबालिकाहरुलाई निशुल्क रुपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रुपमा सहभागी बन्न सरोकारवाला निकायहरुले आग्रह गरेका छन् ।

भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य स‌ंस्थाहरुले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा वर्षको दुईपटक कार्तिक र वैशाख महिनामा बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल खुवाइन्छ । भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ ।

बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौती दुध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पहेँला फलफूल, तरकारी, फर्सी मेवा आदिमा स्रोतको रुपमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ । त्यासैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबर्द्धक पोषक तत्वको रुपमा मानिएको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *